Logo
Logo

जसपा गठबन्धनमा फर्के सातै प्रदेशमा एमाले सत्ताविहीन


8.5k
Shares

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै सातै प्रदेशमा सरकार गठनको गृहकार्य सुरु भएको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै प्रदेश १ बाहेक सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने पक्का भएको छ । प्रदेश १ मा जनता समाजवादी पार्टी (जसपा)को १ मत निर्णायक रहेकाले जसपाको समर्थनमा सरकार गठन निर्भर हुने छ ।

प्रदेश १ बाहेकका सबै प्रदेशमा गठबन्धनले सहजै सरकार गठन गर्ने अवस्था बनेको छ । एमालेसँगको सहकार्य समाप्त भएको घोषणा गरेको जसपा पुरानै गठबन्धन अर्थात वर्तमान सत्ता गठबन्धनमा फर्कने हो भने सात्तै प्रदेशमा एमाले सहजै सरकारविहीन बन्ने छ ।

जसपाको १ मतमा निर्भर प्रदेश १ को सरकार गठन
प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय रहेको छ । यहाँ बहुमतको सरकार गठनका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।

प्रदेश १ मा एमालेको ४० र राप्रपाको ६ गरी एमाले–राप्रपा गठबन्धनसँग ४६ मत रहेको छ । त्यसैगरी, सत्ता गठबन्धनसँग पनि कांग्रेसको २९, माओवादीको १३ र एकीकृत समाजवादीको ४ गरी ४६ मत नै छ ।

निर्वाचनमा एमालेसँग तालमेल गरे पनि निर्वाचनपछि जसपाले एमालेसँग सहकार्य टुटेको भनिसकेको छ । प्रदेश १ मा जसपाको १ मत छ । सरकार गठनका सवालमा जसपाको सोही १ मत निर्णायक हुने छ । जसपाले जुन गठबन्धनलाई समर्थन गर्छ त्यसैको सरकार बन्ने छ ।

मधेसमा गठबन्धनलाई थोरै अपुग
मधेस प्रदेशको कुल प्रदेसभा सदस्य संख्या १०७ रहेको छ । यहाँ बहुमतको सरकार गठन गर्न ५४ मत आवश्यक पर्छ ।

मतपरिणामअनुसार मधेसमा एमाले पहिलो दल हो । तर, एमालेले सरकार गठन गर्न सक्ने देखिन्न । त्यसैगरी, वर्तमान सत्ता गठबन्धनलाई पनि सहज छैन । यहाँ जसपा, नयाँ दल र स्वतन्त्र उम्मेदवारमा सरकार गठन निर्भर हुनेछ ।

मधेसमा एमालेको २३ र राप्रपाको १ गरी एमाले–राप्रपा गठबन्धनको मत जम्मा २४ मात्र रहेको छ । १६ सिट प्राप्त गरेको जसपा एमालेसँगै रहे पनि ४० मात्र हुन्छ । उक्त मत सरकार गठनका लागि १४ अपुग हो ।

कांग्रेसको २२, लोकतान्त्रिक समाजवादी पार्टीको ९, माओवादी केन्द्रको ८ र एकीकृत समाजवादीको ७ गरी सत्ता गठबन्धनसँग ४६ मत रहेको छ । यस्तो अवस्थामा सरकार गठनका लागि सत्ता गठबन्धनलाई ८ मत मात्र अपुग हुन्छ ।

मधेसका बाँकी दल जनमत पार्टी नेपालको १३, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीको १–१ मत रहेको छ भने स्वतन्त्र निर्वाचितको मत ६ रहेको छ ।

सत्ता गठबन्धनलाई सरकार गठनका लागि जसपा वा जनमतको साथ पाए धेरै सहज हुने देखिन्छ । जसपाले एमाले गठबन्धन छोडिसकेको छ भने जनमतले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ ।

अर्को विकल्पको रुपमा एमाले, जसपा, जनमत र राप्रपा सहकार्य हो । यस्तो अवस्थामा यो गठबन्धनको मत ५३ हुन्छ । तर, जसपा एमालेमा रहने सम्भावना नरहेको बुझिन्छ ।

बागमतीमा गठबन्धनलाई सहज बहुमत
बागमती प्रदेशसभा सदस्यको कुल संख्या ११० रहेको छ । यहाँ बहुमतको सरकार गठनका लागि ५६ मत चाहिन्छ ।

कांग्रेसको ३७, माओवादीको २१, एकीकृत समाजवादीको ७ गरी सत्ता गठबन्धनसँग ६५ मत रहेको छ । यहाँ गठबन्धनले सहजै सरकार बनाउन सक्छ ।

त्यसैगरी, एमालेको २७ र राप्रपाको १३ गरी एमाले गठबन्धनको ४० मत रहेको छ । जुन मत सरकार गठनका लागि १६ अपुग हो ।

यहाँ नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली दलको २ मत रहेको छ । यी दुई दलको समर्थन पाए पनि एमालेले सरकार गठन गर्न सक्दैन ।

गण्डकीमा पनि सहजै गठबन्धन सरकार
गण्डकी प्रदेशसभाको कुल संख्या ६० रहेको छ । यहाँ सरकार गठनका लागि ३१ मत चाहिन्छ । यहाँ पनि वर्तमान सत्ता गठबन्धनलाई सरकार गठनका लागि सहजै बहुमत पुग्छ ।

कांग्रेसको २७, माओवादीको ८, एकीकृत समाजवादीको १ गरी सत्ता गठबन्धनसँग ३६ मत रहेको छ । यो मत सरकार गठनका लागि सहज बहुमत हो ।

त्यसैगरी एमालेको २२ र राप्रपाको २ मत गरी एमाले–राप्रपा गठबन्धसँग २४ मत रहेको छ । एमाले–राप्रपा गठबन्धनलाई सरकार गठनका लागि ७ म गुग्दैन ।

लुम्बिनीमा पनि गठबन्धनलाई सहज
लुम्बिनी प्रदेशसभाको कुल सदस्यसंख्या ८७ रहेको छ । यहाँ सरकार गठनका लागि ४४ मत आवश्यक हुन्छ ।

कांग्रेसको २७, माओवादीको ९, लोसपाको ३, एकीकृत समाजवादी र राजमोको १–१ गरी सत्ता गठबन्धनसँग ४१ मात छ । सरकार गठनका लागि गठबन्धनलाई ३ मत पुग्दैन ।

त्यसैगरी एमालेको २९ र राप्रपाको ४ गरी एमाले गठबन्धनको मत ३३ मात्र रहेको छ । एमालेलाई सरकार गठनका लागि ११ मत पुग्दैन ।

मतका आधारमा लुम्बिनीमा पनि गठबन्धनकै सरकार गठनका लागि सहज देखिन्छ । गठबन्धनले स्वतन्त्र वा अन्य साना दलको मत दिए सहजै सरकार गठन गर्न सक्छ ।

यहाँ, जसपाको ३, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टीको ३ र स्वतन्त्र ३ मत रहेको छ ।

कर्णालीमा पनि एमाले सत्ता बाहिरै
कर्णालीको कुल प्रदेशसभा सदस्यको संख्या ४० रहेको छ । यहाँ बहुमतको सरकार गठन गर्नका लागि २१ मत चाहिन्छ ।

कर्णालीमा कांग्रेसको १४, माओवादीको १३ र एकीकृत समाजवादीको १ गरी सत्तारुढ दलको २८ मत रहेको छ ।

त्यसैगरी, एमालेको १० र राप्रपाको १ गरी एमाले–राप्रपा गठबन्धनको ११ मत रहेको छ । यहाँ एमाले नेतृत्वमा सरकार गठनका लागि १० मत पुग्दैन ।

यसरी हेर्दा कर्णालीमा सत्तारुढ गठबन्धनकै सरकार गठन हुने देखिन्छ । कर्णालीमा १ स्वतन्त्र मत पनि छ ।

सुदूरपश्चिममा पनि गठबन्धनकै सरकार
सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय रहेको छ । यहाँ बहुमतको सरकार गठनका लागि २७ प्रदेशसभा सदस्य चाहिन्छ ।

सुदूरपश्चिममा कांग्रेसको १९, माओवादीको ११ र एकीकृत समाजवादीको ४ गरी सत्तारुढ दलको ३४ मत रहेको छ । यस आधारमा गठबन्धनले सहजै सरकार गठन गर्न सक्छ ।

यहाँ एमालेको १० र राप्रपाको १ गरी ११ मत रहेको छ । एमाले–राप्रपा गठबन्धनको सरकार गठनका लागि १६ मत पुग्दैन । त्यति मात्रै नभएर बाँकी सबै दलको मत पाउँदा पनि एमालेले सरकार गठन गर्न सक्दैन ।

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको ७ र १ मत स्वतन्त्र रहेको छ ।

जसपा फर्के सातै प्रदेशमा एमाले बाहिर
अंकगणितका आधारमा सातै प्रदेशसमा नेकपा एमाले सत्ता बाहिरै रहने देखिन्छ । तर, त्यसका लागि निर्वाचनअघि बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनमै फर्के सहज हुनेछ । किनकी, प्रदेश १ मा जसपाको एक मत निर्णायक छ ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार गठनका लागि ४७ मत चाहिन्छ । सत्ता गठबन्धन र एमाले–एमाले गठबन्धनको बराबर ४६-४६ मत रहेको छ । यहाँ जसपाको १ मत निर्णायक हुने छ ।

एमालेले सरकार गठन गर्न सक्ने मत प्रदेश १ मा मात्र पाएको छ । अन्य प्रदेशमा एमालेलाई धेरै नै मुस्किल पर्ने देखिन्छ । प्रदेश १ मा पनि जसपाको १ मत मै निर्भर रहन्छ । त्यसैले प्रदेश १ मा सरकार गठन गर्न नसके एमाले सातै प्रदेशमा सत्ता बाहिर रहन्छ ।

त्यसैगरी, मधेस प्रदेशको कुल प्रदेसभा सदस्य संख्या १०७ रहेको छ । यहाँ बहुमतको सरकार गठन गर्न ५४ मत आवश्यक पर्छ ।

यहाँ सत्तारुढ गठबन्धन दलको ४६ मत रहेको छ । यस्तो अवस्थामा सरकार गठनका लागि सत्ता गठबन्धनलाई थप ८ मत आवश्यक पर्छ ।

मधेसमा जसपाको १६ मत रहेको छ । जसपा गठबन्धमा फर्कने हो भने मधेसमा पनि गठबन्धनको सरकार सहजै बन्छ र एमाले सत्ता बाहिर बस्नुपर्ने अवस्था बन्छ । तर, जसपा नआए पनि यहाँ गठबन्धनकै सरकार बन्ने देखिन्छ ।

त्यस्तै, लुम्बिनी प्रदेशसभाको कुल सदस्य संख्या ८७ रहेको छ । यहाँ सरकार गठनका लागि ४४ मत आवश्यक हुन्छ ।लुम्बिनीमा गठबन्धन दलसँग ४१ मात छ । सरकार गठनका लागि गठबन्धनलाई ३ मत पुग्दैन ।

यहाँ एमाले गठबन्धनको ३३ मत मात्र रहेको छ । एमालेलाई सरकार गठनका लागि ११ मत पुग्दैन ।

लुम्बिनीमा जसपाको ३ मत रहेको छ । जसपा गठबन्धनमा फर्कने हो भने गठबन्धनलाई सरकार गठन गर्न आवश्यक मत पुग्छ । यस्तो अवस्थामा यहाँ पनि एमाले सरकार बाहिर बस्नुपर्ने अवस्था बन्छ ।

बाँकी रहेका बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्तमान सत्ता गठबन्धनमा फेरबदल आइ समीकरणमा बद्लेमात्रै एमालेको सरकार बन्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्