Logo
Logo

एक्लै फर्किन्नँ भनेका राजेन्द्र लिङ्देन १४ सांसदसहित संसद छिर्दै


3.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन घोषणा भएपछिको प्रतिनिधिसभा बैठकमा सांसदको संख्या बढाएर मात्रै संसद बैठकमा आउने प्रतिज्ञा पुरा गरेका छन् ।

निर्वाचनपछि गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा संसदमा राप्रपालाई उपस्थित गराउने बाचा गर्दै बहिरिएका अध्यक्ष लिङ्देन १४ सांसदसहित संसद छिर्दै छन् ।

तत्कालीन प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद पदबाट राजीनामाको घोषणा गरेका उनले ४ मंसिरमा हुने निर्वाचनबाट एक्लै सांसदको रुपमा संसद भवनमा नआउने बताएका थिए ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तर्फबाट ७ सिट जितेको राप्रपा समानुपातिकबाट निर्वाचित ७ जनासहित १४ सांसदसहित संसद बैठकमा सहभागी हुँदै छन् ।

०७४ सालको निर्वाचनमा राप्रपाबाट लिङ्देन एक्लैले चुनाव जितेका थिए । तत्कालीन प्रतिनिधिसभामा राप्रपाबाट उनले मात्र प्रतिनिधित्व गरेका थिए । १९ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा रोष्ट्रम प्रयोग गरेर उनले सांसद पदबाट राजीनामा घोषणा र सेवासुविधा उपलब्ध नगराउन संसद सचिवालयलाई आग्रह गर्दै आउने संसदमा संख्या बढाएर फर्किने बताएका थिए ।

राप्रपा संसदीय दलका नेतासमेत रहेका लिङ्देन बिहीबार आफ्ना १४ सांसदसहित प्रतिनिधिसभा सदस्यको शपथ खान नयाँ बानेश्वरस्थित संसद भवन पुगेका छन् ।

संसदमा पाँचौ शक्तिशाली पार्टीको रुपमा राप्रपा रहनेछ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीपछि राप्रपालाई पाँचौं शक्तिशाली पार्टीको अध्यक्ष लिङ्देन संसदमा उपस्थित गराएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज(बिहीबार) दिउँसो १ बजे नवनिर्वाचितथ प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्