Logo
Logo

खानेपानी मन्त्रालयमा मन्त्री चौधरीको आतंक, विभागदेखि आयोजना प्रमुख फेर्न चलखेल




काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरी चुनावमा दोब्बर मतले पराजीत भएर आएलगत्तै जितेको मन्त्रीको शैलीमा मन्त्रालयमा आतंक मच्चाउँदैआएका छन् । उनले राष्ट्रिय गौरबको आयोजना मेलम्ची खानेपानी आयोजना, खानेपानी विभाग, आयोजना कार्यान्वयन निर्देशनालय(पीआइडी), काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लगायतका निकायमा प्रमुख परिवर्तनका लागि दबाब दिंदै आएका छन् । विभाग मातहतका डिभिजन खानेपानी कार्यालयहरुमा पनि प्रमुख परिवर्तनका लागि दबाब दिए पनि बाँचुन्जेल सहयोग गर्छु भनेर कसम जस्तै खाएका कर्मचारी प्रशासन महाशाखाका प्रमुख शोभाकान्त पौडेलले फाइल उठाउन हिम्मत गरेका छैनन् ।


मन्त्रालयका गतिबिधि बाहिरिन थालेपछि ब्यवस्थापन शाखाका प्रमुख भूपेन्द्र सापकोटालाई कार्यकक्षमा आमाचकारी गालीगलौज गरेका पौडेलले उनलाई सरुवा गर्ने हाक्काहाक्की बताए पनि आन्तरिक सरुवा गर्न समेत हिम्मत गरेका छैनन् । सापकोटा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाका भतिज हुन् । त्यहीकारणले गर्दा पनि होला, सापकोटालाई उनले सरुवा गर्न हिम्मत जुटाउन सकेनन् । पौडेललाई केयुकेएलको बोर्ड अध्यक्ष बनाउनका लागि मन्त्री चौधरीले समेत बचन दिएका थिए । तर सहसचिव रितेशकुमार खत्री पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै शक्ति भिडाएर बसेकाले पौडेलको केही सीप लागेन । अहिले खानेपानी मन्त्रालयमा तीन स्याङ्जालीको खुब चर्चा हुने गरेको छ । जसले मन्त्री र मन्त्रालय दुुबै ड्ुुबाएर आफूहरु आर्थिक रुपमा सबल भएको भन्नेहरु मन्त्रालयमा थुप्रै भेटिन्छन् । तीन स्याङ्जाली हुन्–सहसचिव शोभाकान्त पौडेल, जो प्रशासन महाशाखा हुन् । उपसचिव शशीकुमार लम्साल । उनी मन्त्री चौधरीका निजी सचिव पनि हुन् ।


त्यसैगरी अर्का स्याङ्जाली हुन्, मन्त्रालयका लेखाप्रमुख यामनारायण शर्मा । मन्त्री चौधरीको प्रवेशसँगै अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बरिष्ठ अध्यागमन अधिकृृत जस्तो आकर्षक सुविधासहितको कार्यालयबाट खानेपानी मन्त्रीको पीए बन्न आएका लम्साल सुरुदेखि नै विवादमा परेका छन् । कम बोल्ने तर भूमिगत शैलीमा आफ्नो स्वार्थ अनुसारको काम लिन खप्पीस लम्साल सरकारी पीए भए पनि कर्मचराीमाझ भने राजनीतिक कार्यकर्ताले जस्तै ब्यवहार देखाउँदैआएको आरोप छ ।


प्रत्येक निर्णयमा लम्सालले आर्थिक चलखेल गर्ने गरेको र चलखेलबापत प्राप्त हुने रकम मन्त्री चौधरी, सहसचिव पौडेलसहित सरोकारवालाहरुसँग दामाशाहीले बितरण गर्ने गरेका छन् । मन्त्रालयमा बिचौलियाको भूमिका खेल्दैआएका लम्सालको प्रवेशसँगै उनकै अनुकूलको सचिव सुरेश आचार्यलाई लगियो । तर आफूले भनेको नमानेपछि लम्सालको डिजाइनमा उनलाई प्रधानमन्त्री कार्यालयमा फालियो । त्यसपछि लम्सालकै योजनाबमोजिम हालका सचिव मणिराम गेलाललाई भित्राइयो । लम्सालले सचिव परिवर्तनमा मात्र होइन, खानेपानी विभागका महानिर्देशकदेखि डिभिजन कार्यालय प्रमुखहरु, अन्य आयोजनाका प्रमुखहरु लगायत हरेक सरुवामा बिचौलियाको भूमिका खेल्दैआएका छन् । उनले आफू पीए भएपछि स्याङ्जाकै शोभाकान्त पौडेललाई सहसचिवका रुपमा मन्त्रालयमा ल्याए । आन्तरिक राजस्व विभागको महानिर्देशकमा असफल भएपछि कारबाहीस्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा राखेका पौडेललाई लम्सालकै जोडबलमा मन्त्री चौधरीले खानेपानीमा ल्याएका थिए । केही महिना अतिरिक्तमा थन्किएका पौडेलले जिम्मेवारी पाएसँगै खानेपानीमा सचिवलाई समेत छायाँमा पार्दै हालीमुहाली गर्दैैआएका छन् । प्रशासन महाशाखाको जिम्मेवारी आफ्नै भेगकालाई दिलाउन सफल भएका लम्सालले लेखाशाखा पनि कब्जा गरेका छन् ।


तत्कालीन लेखाप्रमुखलाई सरुवा गराएर स्याङ्जाली युवराजलाई ल्याउन लम्साल सफल भएपछि आर्थिक कारोबारमा पनि उनलाई सहज भएको छ । मन्त्रालय र मातहतका निकाय सबैतिर आफूअनुकूलका हाकिमहरु पठाउन सफल लम्सालले मन्त्री चौधरीलाई चुनावको बेला राम्रै आर्थिक संकलन गरिदिएको चर्चा छ । मन्त्री चौधरीको बहिर्गमनसँगै लम्साल अर्को आकर्षक कार्यालयको खोजीमा छन् ।

प्रतिक्रिया दिनुहोस्