Logo
Logo

चिनियाँ राष्ट्रपतिलाई ‘सुनिता’को डर ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ भदौ । घटनाले कुनै नयाँ मोड नलिएमा चिनियाँ राष्ट्रपति सी जिनपिङ कात्तिक दोस्रो साता नेपाल आउने पक्का भएको छ । सोही अनुसार परराष्ट्र र गृह मन्त्रालय तयारी थालिसकेका छन् ।

गृह मन्त्रालयले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी बिशेष सुरक्षा योजना बनाउने तयारी गरेको छ । सुरक्षाका दृष्टिकोणले नेपाल खतरनाक देश त होइन, तर चीनसँग जोडिएको फ्रि तिब्बत गतिविधिका कारण बिशेष सुुरक्षा योजना आवश्यक परेको गृह मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न एक समूह सक्रिय भएर लागिसकेको छ भन्ने कुरा गत साताको चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबाट समेत प्रष्ट हुन्छ ।

विदेशमन्त्री यीको भ्रमणलाई विवादास्पद बनाउन एक समूह परिचालन भएको थियो । बालुवाटास्थित चिनियाँ दूतावास नजिकै गएर महिलाहरुको एक समूहले चीनविरोधी नारा लगाएका थिए ।

उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा घटना निकै नाटकीय भएको खुलेको छ । राजविराज घर भएकी सुनिता साह तेलीले फिल्मी तरिकाले सो कार्यक्रम गरेकी थिइन् ।

उनले आफ्ना केही साथीहरुलाई भाटभटेनी घुम्न भनेर लिएर गएकी थिइन् । भाटभटेनी पुगेपछि चीन विरोध नारा लेखिएका ब्यानर देखाउन लगाएर फोटो खिची उनी त्यहाँबाट टाप कसिन् । सोझा युवतीहरुलाई प्रहरीले पक्राउ ग¥यो । तेली समाजकी अध्यक्ष रहेकी साहलाई एक सातासम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । तेली समाजकी अध्यक्ष सुनिताको गतिविधिहरु शंकास्पद देखिएको प्रहरी अधिकारीहरु बताउँछन् । उनी पशुपतिको आश्रममा बस्ने सूचना प्रहरीले पाएको छ । त्यही दिनदेखि उनको मोबाइल स्वीच अफ छ । जसकारणले सो समूहलाई कसले परिचालन गरेको थियो भन्ने खुल्न सकेको छैन ।

‘यस्तै सुनिताहरुबाट चिनियाँ राष्ट्रपतिलाई खतरा छ,’ एक उच्च प्रहरी अधिकारी भन्छन्,‘भ्रमणकै बेला तिब्बती शरणार्थीहरुले चीन विरोधी गतिविधि गर्ने सम्भावना भएकाले बिशेष सतर्कता अपनाउनुपर्छ ।’

फ्रि तिब्बतको नारा उठाएर चीनलाई कमजोर बनाउन पश्चिमी देशहरुले नेपालमा ठूलो लगानी गरेका छन् । उनीहरुले तिब्बती शरणार्थीहरुको संस्थामा पनि करोडौं सहयोग दिएका छन् । त्यसकारण विदेशी समूहले नै राष्ट्रपतिको भ्रमणको क्रममा चीन विरोधी गतिविधि रोक्न अहिलेदेखि नै प्रहरी परिचालन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्