Logo
Logo

पहेँलो कि रातो कम्युनिष्ट पार्टी ?



वर्गीय आन्दोलनको नेतृत्व गर्न कम्युनिष्ट पार्टीहरु बनाइन्छ र कम्युनिष्ट हुनु भनेको त्यसप्रकारको आन्दोलनको नेतृत्व गर्नु हो । वर्गीय आन्दोलनको मुद्दाहरु छोडेर निर्माण गरिने कम्युनिष्ट पार्टीहरुको अर्थ हुँदैन । त्यस्ता नक्कली कम्युनिष्ट पार्टीहरु नेपालमा मात्र होइन, संसारभर छन् ।

हाम्रै देशमा पनि कम्युनिष्ट नामको प्रतिगामीहरु छन् । उदाहरणका लागि केशरजंगहरुलाई उल्लेख गर्न सकिन्छ । कुनै बेलामा केशरजंगको पार्टी नेपालको सर्वाधिक ठूलो कम्युनिष्ट पार्टी थियो । आज त्यो पार्टीको लिगेसी बोकेको पार्टी अस्तित्वमा छैन । त्यतिमात्र होइन, आजको कम्युनिष्ट आन्दोलनभित्र कसैलाई गाली गर्नुपर्याे भने त्यसलाई केशरजंग प्रवृत्ति भनेर उल्लेख गर्ने गरिन्छ ।

यहाँ भन्न खोजिएको कुरा के हो भने वर्गीय आन्दोलनलाई धोका दिएर गठन गरिने कम्युनिष्ट पार्टी र त्यसका अगुवाहरुलाई इतिहासले गालीका रुपमा सम्झने गर्दछ । त्यसबाहेक साँच्चिकै समाजवाद निर्माणका लागि गठन गरिएका कम्युनिष्ट पार्टीहरु पनि समयकालखण्डमा विस्तारै पहेँलिएर प्रतिक्रियावादी कित्तामा झरेका उदाहरणहरु पनि छ ।

सन्दर्भ आजको नेपाली कम्युनिष्ट आन्दोलनको हो । निर्धक्क भन्न सकिन्छ, एमाले एउटा क्रान्तिकारी पार्टी नै थियो । यसको जन्म भयानक उग्रताबाट भए पनि यसले आफूलाई विस्तारै क्रान्तिकारी कित्तामा उभ्याएको तथ्यमा कसैले शंका गर्दैन । यसले वर्गीय आन्दोलनको मुद्दा उठाएको मात्र होइन, नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका समेत खेलेको छ । तर यो पार्टीको नेताहरुका निरन्तर सत्ताआरोहण र यसले अनिवार्य गर्ने प्रतिक्रियावादीहरुसँगको उठबसले यसलाई दिनप्रतिदिन पहेँलो बनाउँदै लग्यो ।

यो पार्टीले उठाउँदै आएको वर्गीय पक्षधरताबाट ऊ पछि हटेको मात्र होइन, लोकतान्त्रिक मूल्य मान्यतामा समेत कमजोर देखापरेको तथ्य जगजाहेर नै छ । अनि न त्यो पार्टीमा विद्रोह भयो । आज एमाले कम्युनिष्ट पार्टी हो कि होइन ? गम्भीर प्रश्न खडा भएको छ ।

त्यतिमात्र होइन, राजावादीहरु, धार्मिक नेताहरु र दलाल पूँजीवादीहरुका चिनिएका प्रतिनिधिहरुले समेत सूर्य चुनाव चिह्नबाट नै निर्वाचनमा प्रतिस्पर्धा गरेपछि यो पार्टीको वामपन्थताप्रति समेत शंका उत्पन्न भएको देखिन्छ । उग्रताबाट जन्म भएर क्रान्तिकारी चरण पार गर्दै प्रतिक्रियावादी कित्तामा पतन हुन खोजेको वा डिलमा उभिएको कम्युनिष्ट पार्टीको रुपमा एमाले इतिहासमा दर्ज हुने कुरामा अब कुनै द्विविधा छैन ।

हिजो लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति आधार बनाएर निर्माण गरिएको पाँचदलीय गठबन्धन भत्केको छ । यो गठबन्धन भत्किएर सरकार निर्माणका लागि निर्माण गरिएको अर्को गठबन्धनको अनुहार हेर्ने हो भने त्यसको कुरुपता झन् डरलाग्दो देखिन्छ ।

हलो चुनाव चिह्न बोकेका गणतन्त्र विराधीहरु, गणतन्त्र स्थापनाका नायक दाबी गर्ने एमाले माओवादीहरु, संघीय व्यवस्था स्थापनाको आफूलाई जनक ठान्ने मधेसवादीहरु र संघीयता अविलम्ब खारेज गर्नुपर्छ भन्ने घण्टीवादीहरु आज एक ठाउँमा छन् । त्यतिमात्र होइन, एमाले, कांग्रेस र माओवादीबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनी विजय बनेका स्वतन्त्र सांसदहरुसमेत यही लाइनमा निर्धक्क उभिएको देखिन्छ ।

अब प्रश्न खडा हुन्छ, प्रचण्ड कुन उद्देश्यका साथ सरकारको नेतृत्व गर्दैछन् ? राजतन्त्र र हिन्दूवादी राजेन्द्र लिङ्देनको सहयोगमा उनले गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्न सक्छन् ? समावेशी र संघीयताविरोधी घण्टीको सहयोगमा संघीयता र समावेशी प्रणाली उनले संरक्षित गर्न सक्छन् ? दलाल पूँजीवादीहरुको नियन्त्रणमा रहेको एमालेको सहयोगमा उनले समाजवादी कार्यक्रमहरु लगू गर्न सक्छन् ? पहाड, तराई र हिमालका नेपाली जनतालाई एउटै मालामा उन्न मधेशवादीहरु प्रचण्डका सहयोगी हुन सक्छन् ?

सारमा, यो सरकारी गठबन्धनको कुनै साझा उद्देश्य र मुद्दा बन्न सक्दैन । साझा मुद्दा र उद्देश्य नभएको त्यस्तो गठबन्धन (जुन सरकार निर्माणमा एउटै ठाउँमा छ), त्यसले नेपाल र नेपाली जनताको समस्या समाधानका लागि के कार्यक्रम ल्याउँला ? यो गम्भीर सवालको केन्द्रमा आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।

एमाले त पहेँलिएकै थियो, उसलाई कुनै समस्या छैन । स्वस्थानी कथामा सतिदेवीको विभिन्न ठाउँमा अंग पतन भएझैँ नेपाली राजनीतिको यो ठाउँमा आइपुग्दा नेपाली कम्युनिष्ट आन्दोलनको अर्को एउटा अंग जसलाई हामी माओवादी केन्द्र भनेर चिन्छौँ, त्यसको पतन हुने सम्भावना देखिँदैछ ।

सरकार कसले बनायो ? को–को सामेल हुने भए ? यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण करा त के हो भने नेपाली श्रमजीवीवर्गको वर्गीय आन्दोलन बलियो भयो कि कमजोर भयो भन्ने हो ।

कम्युनिष्टहरुलाई कमजोर पार्न उनीहरुलाई नै सरकारको साँचो बुझाउने प्रतिक्रियावादीहरुको रणनीति कुनै नयाँ होइन । यो अभ्यास धेरै चोटी उनीहरुले सफलतापूर्वक प्रयोग गरिसकेका छन् । आज एमाले पहेँलिनुको मुख्य कारण भनेको मुद्दाहरु छोडेर सरकारमा निरन्तर सहभागी हुनु नै हो ।

चुनावी जित–हार कम्युनिष्टहरुका लागि सर्वाधिक महत्वूपर्ण विषय बन्नु हुँदैन । वर्गीय आन्दोलन र मुद्दाहरुलाई तिजाञ्जलि दिएर जितेको चुनाव र प्राप्त गरेको सत्ताले कम्युनिष्ट पार्टीहरु समाप्त हुने मात्र होइन, त्यसका नेताहरुसमेत इतिहासमा मजाकको पात्र हुन्छन् । नियतवश यस्तो गरेमा उनीहरुलाई गद्धारका रुपमा समेत भविष्यले सम्झने छ ।

तसर्थ, नेकपा (एकीकृत समाजवादी) यस सन्दर्भमा बडो प्रष्ट हुन जरुरी छ । हाम्रो विद्रोह वा नयाँ पार्टी निर्माणको आधार भनेको लोकतन्त्र, वर्गीय आन्दोलन र समाजवादतर्फको हाम्रो पाइलासँग सम्बन्धित छ । यो उद्देश्य वर्तमान सरकारमा समावेश भएर प्राप्त हुन सक्दैन ।

तसर्थ, आजको हाम्रो मुख्य कार्यभार भनेको प्रतिपक्षमा रहनु नै हो । प्रतिपक्षमा रहने भनेको असहभागिता वा मूकदर्शक होइन । सवल र सानदार प्रतिपक्ष । त्यस्तो प्रतिपक्ष जसले लोकतन्त्रको सवालमा, जननताको दैनिक जीवनमा सरोकार राख्ने जनजीविकाको सवालमा र वर्गीय आन्दोलनको श्रीवृद्धि गर्ने सवालमा उभिनु पर्छ । त्यो उभ्याइले प्रतिक्रियावादीहरुको मट हल्लिने मात्र होइन, वामपन्थताको खोल ओढेकाहरुलाई पर्दाफास गर्नसमेत सकोस् ।

प्रतिक्रिया दिनुहोस्