Logo
Logo

बैंकर रवीना देशराजले सार्वजनिक गरिन् प्रेमी



काठमाडौं । बैंकर रवीना देशराज श्रेष्ठले इन्स्टाग्राममार्फत् आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन् । सेलेब्रेटी तथा बैंकरका रूपमा चिनिने रवीनाले बिहीबार इन्स्टाग्राममार्फत आफ्नो र प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन् ।

उनले एक साताअघि मात्र मेगा बैंकको सीइओबाट राजीनामा दिएकी थिइन् । रवीना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत हुन् ।

उनले लेखेकी छन्, ‘साथीहरू, ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि मेरो जीवन मात्रै परिवर्तन भएको छैन । मेरा पुर्खाहरू र ब्रह्माण्डको आशीर्वादका कारण मैले एकदमै दयालु, सम्मानजनक, कुरा बुझ्ने र मायालु सहयात्री पनि पाएको छु । यो कुरा बाँड्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ ।’

उनले तस्बिरमा भएका आफ्ना प्रेमीका बारेमा थप भनेकी छन्, ’म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ । उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ । म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु…।’

रवीनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर ‘आइ लभ यु’ पनि भनेकी छन् । उनको पोस्टमा स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानले पनि ‘आइ लभ यु टू’ लेखेका छन् ।

आफ्ना प्रेमीलाई चिनाउन पाउन खुसी लागेको भन्दै रवीनाले सबैले आफूलाई शुभकामना दिनुहुनेछ भन्ने आशा रहेको पनि बताएकी छन् ।

उनको पोस्टमा उनका छोराहरू आशीरमान र आयुष्मान, बुहारी प्रियंका, बैंकर अनिल केशरी शाह, कलाकार परिमिता राणा लगायतले मायाको इमोजी राख्दै कमेन्ट गरेका छन् भने अरू धेरैले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्