बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो ।
आजको खेलमा बैतडीले दिएको एक सय सात रनको लक्ष्य पछ्याइएको अछाको पारी नौ दशमलव चार ओभरमा १६ रनमा समेटियो । बलिङतर्फ बैतडीका लागि निर्मला भण्डारीले चार तथा कप्तान रितु कनौजिया र पिंकी बोहराले दुई/दुई विकेट हात पारे ।
त्यसअघि कैलालीको फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय छ रन बनायो ।
कप्तान रितु कनौजियाले ४१, ममता बोहराले अविजित १९ र निर्मला भण्डारीले अविजित ११ रन बनाए । बलिङतर्फ अछामका रविना साउद, अस्मिता औजी र कविता सुनारले एक/एक विकेट लिइन् । उक्त खेलको प्लेयर अफ द म्याच बैतडीकी कप्तान रितु कनौजिया घोषित भए । यसअघि सोमबार बैतडी कञ्चनपुरसँग पराजित भएको थियो । बैतडीले अर्को खेल बुधबार डोटीसँग खेल्नेछ ।
प्रतियोगितामा सहभागी सात टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही पुस २९ गतेदेखि सुनसरीको इटहरीमा हुने तय भएको छ ।














