Logo
Logo

पुनः प्रधानमन्त्री बन्ने खेलमा देउवा, राप्रपा र जसपालाई आकर्षक अफर


9.2k
Shares

काठमाडौं । अप्रत्यासित रुपमा प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस पुनः सत्तारोहणको प्रयासमा जुटेको छ । यसै अनुरुप सभापति शेरबहादुर देउवा वर्तमान सत्ता गठबन्धन भत्काउने खेलमा लागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन नजिकिएसँगै देउवाले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुसँग छलफल अघि बढाएका छन् ।

देउवा पुनः सत्तारोहणको तयारीमा जुटेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पुष्टि गरेका छन् । बुधबार पत्रकार सम्मेलनका क्रममा महतले भने– ‘हामी अप्रत्यासीत रुपमा सत्ता बाहिर भएका छौं । सभापतिज्यूले हामी पुनः सरकारमा जान्छौं भनिरहनु भएको छ ।’

यसैबीच, देउवाले गठबन्धन दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग नयाँ सत्ता समीकरणको प्रयास गरेका छन् । देउवाले राप्रपासँग नयाँ समीकरण बनाउने सन्दर्भमा संघीय सरकारमा उपप्रधानमन्त्रीसहित केही महत्वपूर्ण मन्त्रालय र प्रदेशमा एक मुख्यमन्त्रीसहित मन्त्रीहरु दिन तयार रहेको प्रस्ताव गरेको राप्रपा स्रोतले बताएको छ ।

सुरुमा सरकारलाई समर्थन मात्र गर्ने निर्णय गरेको राप्रपा पछिल्लो समय सरकारमा सहभागी हुने पक्षमा पुगेको छ । सरकारमा सहभागी हुने सन्दर्भमा राप्रपाले उपप्रधानसहित ४ मन्त्रालय दबी गरेको बुझिएको छ ।

राप्रपाको दाबीमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओली भने तयार छैनन् । सोही मतभेदमा देउवाले खेल्न खोजेको सत्ता पक्षीय नेताहरुको आरोप छ ।

राप्रपा भने अहिले नै यो गठबन्धन तोड्ने पक्षमा नरहेको बुझिन्छ । अध्यक्ष राजेन्द्र लिङ्देन निकट एक नेता भन्छन– ‘कांग्रेसले नयाँ समीकरणका लागि प्रस्ताव राखेकै हो । तर, अध्यक्ष र हामी कोही पनि अहिलेकै अवस्थामा नयाँ समीकरणका लागि तयार छैनौं ।’

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड पुस २६ गते विश्वासको मत लिने तयारीमा छन् । देउवा भने प्रचण्डलाई विश्वासको मत नपुग्ने गरी सत्तारुढ दलमा विभाजन ल्याउने तयारीमा देखिन्छन् ।

देउवाले वर्तमान सत्ता गठबन्धनका अन्य दलहरुसँग पनि छलफल चलाएका छन् । बिहीबार मात्र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।

जसपा स्रोतका अनुसार देउवाले यादवसँग पनि उपप्रधानसहित रोजेको मन्त्रालय दिने भन्दै प्रचण्डलाई विश्वासको मत नदिन आग्रह गरेका थिए । तर, अध्यक्ष यादवले अहिलेकै अवस्थामा भर्खरै बनेको गठबन्धन तोडिहाल्नुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएको बुझिएको छ ।

त्यसैगरी, देउवाले सीके राउत नेतृत्वको जनमत र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि छलफल गरेका छन् ।

सीके राउतसँगको छलफलका क्रममा देउवाले संघमा राम्रो मन्त्रालय र मधेसमा मुख्यमन्त्री दिने भन्दै प्रचण्डलाई विश्वासको मत नदिन आग्रह गरेको बुझिएको छ ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरिरहेको नागरिक उन्मुक्तिलाई पनि संघमा राम्रो मन्त्रालय र प्रदेशमा मुख्यमन्त्रीको अफर गरेको बुझिएको छ ।

ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने दाउ
कांग्रेस सभापति देउवा संविधानको धारा ७६ को (३) बमोजिम पुनः प्रधानमन्त्री बन्ने खेलमा लागेका हुन् ।

प्रचण्ड धारा ७६ को (२) का आधारमा दुई वा दुई भन्दा धेरै दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । उनले प्रधानमन्त्री नियक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

७६ को (२) को आधारमा नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा ७६ को (३) मा भएको व्यवस्था अनुसार राष्ट्रपतिले संघीय संसदमा सबैभन्दा धेरै सदस्य भएको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान रहेको छ ।

देउवाले यसै आधारमा प्रचण्डलाई विश्वासको मत नपुग्नेगरी चलखेल सुरु गरेका हुन् । यदि, प्रचण्डले विश्वासको मत नपाएको खण्डमा देउवा स्वतः प्रधानमन्त्री नियुक्त हुनेछन् । धारा ७६ को (३) अनुसार नियुक्त प्रधानमन्त्रीले पनि नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

त्यसैले पहिलो चरणमा प्रचण्डलाई विश्वासको मत पुग्न नदिने र आफूले विश्वासको मत लिने समयमा मत पुर्याउने योजनाहित देउवाले वर्तमान सत्ता गठबन्धनका दलहरुलाई आफूतिर तान्न खोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस्