Logo
Logo
कला

‘कुनै समय एल्बम हात-हातमा बेच्दै पनि हिँडे’



लोकदोहोरीकी चर्चित गायिका हुन् कला लम्साल । नामजस्तै गायन कलाले निपूर्ण कला अहिलेकी व्यस्त गायिका हुन् । ०६१ सालतिर ‘लोकदोहोरी गायन प्रतियोगिता’ जितेपछि व्यवसायीरुपमा गायन अँगालेकी कला आफूलाई भाग्यमानी ठान्छिन् । कला भन्छिन्, ‘संघर्ष र मिहिनेत गरेअनुरुप फल पाएकी छु । यस अर्थमा आफूलाई भाग्यमानी ठान्छु ।’

तनुहुँ, थर्पूकी कला कुनै व्यवसायी मोडलभन्दा कम छैनन् । तर, उनी आफ्नोबाहेक अरुको गीतमा मोडलिङ गर्न रुचाउँदिनन् । उनी भन्छिन्, ‘आफ्नो गीतबाहेक अरुको भिडियोमा मोडलिङ गर्दिनँ किनकि म गायिकाकै रुपमा चिनिन चाहन्छु ।’ हालसम्म एक सय बढी गीत गाइसकेकी कलाका ‘लाहुरे आएन’, ‘पातली’, ‘नाकै हेर्दा’ जस्ता दर्जनभन्दा बढी गीत चर्चित छन् । यिनै गायिका कला लम्सालसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
मेरो नयाँ गीत भर्खरै रिलिज भएको छ । अहिले त्यसको प्रमोशनमा छु । साथै, मेला–महोत्सवको सिजन पनि आएको छ ।

गीत रेकर्डिङको कामहरु भएको छैन ?
भइरहेको छ । मेरो भर्खरै आएको ‘मायाले पछ्यौरी तान्ने’ गीतको भिडियो युट्यु्बमा राम्रो गइरहेको छ । अब चाँडै केही नयाँ गीतहरु गर्दैछु ।

‘मायाले पछ्यौरी तान्ने’ कस्तो गीत हो ?
लोकदोहोरी नै हो । मैले बढीजसो लोकदोहोरी नै गाउँछु । ‘मायाले पछ्यौरी तान्ने’ गीतमा म सँगै रामजी खाँडको स्वर रहेको छ ।

गायनमा लोकदोहोरी नै किन रोज्नुभयो ?
सानैदेखि लोकदोहोरी नै गुनगुनाउँदै आएकी हुँ । र, म दोहोरी गायन प्रतियोगिताबाट यो क्षेत्रमा प्रवेश गरेकी हुँ । ‘लोकदोहोरी गायन प्रतियोगिता’मा विजेता भएपछि गायनलाई व्यवसायीरुपमा अँगालेकी हुँ ।

‘दोहोरी गायन प्रतियोगिता’मा पार्टिसिपेन्ट हुनुअघि गाउनु हुन्नथियो ?
गाउँथे । गाउँघरमा हुने प्राय सबै मेला महोत्सवहरुमा गाउँथे । विद्यालयमा हुने कार्यक्रमहरु पनि गाउँथे । मेरो गायनको सुरुवात नै विद्यालयको स्टेजबाट सुरु भएको हो ।

देश–विदेशका स्टेजमा उत्तिकै व्यस्त हुनुहुन्छ, अहिलेसम्म कति देश जानुभयो ?
एक दर्जनभन्दा बढी देशमा कार्यक्रम गरिसकेकी छु । जसमा युके, जापान, क्यानडालगायत छन् । केही देशमा दोहो¥याएर पनि गएकी छु ।

विदेशमा नेपाली कलाकारको कतिको रेश्पोन्स हुन्छ ?
एकदमै धेरै । विदेशमा बसेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले हामी कलाकारलाई अथाह माया, हौसला र सम्मान दिनुहुन्छ । उहाँहरुकै मायाले गर्दा हामी नेपाली कलाकारले विदेशको स्टेजमा कला देखाउने मौका पाइरहेका छौँ ।

गायनमा लागेपछि तपाइँको पहिलो विदेशयात्रा कहाँबाट सुरु भयो ?
भारतको सिक्किमबाट । सिक्किम पनि हाम्रो लागि विदेश नै हो । त्यसपछि नयाँदिल्ली हुँदै युरोपसम्म पुगेँ ।

विदेशमा कार्यक्रम गर्ने सिलसिलमा सबैभन्दा बढी माया कहाँ पाउनुभयो ?
मैले यो ठाउँ भन्नै मिल्दैन । जुन जुन देशमा पुगे, सबै देशमा उत्तिकै माया र सम्मान पाएकी छु । विदेशी भूमिमा नेपालीहरुको कम्युनिटी एकदमै राम्रो पाएँ ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
आफ्नो मात्र एक सयभन्दा धेरै भयो होला । साथै, अरुका गीतहरु पनि गाउँदै आएकी छु ।

यहाँसम्म आइपुग्न कतिको संघर्ष गर्नुप¥यो ?
संघर्ष हरेक क्षेत्रमा गर्नुपर्छ । मैले गायनमा धेरै संघर्ष र मिहिनेत गरेकी छु । मैले गायन अँगाल्दा एल्बम निकाल्ने चलन थियो । त्यसबेला एल्बम हात हातमा बेचेर पनि हिँडे । कति नखाइ पनि बसियो । तर, अहिले आएर मिहिनेत गरेअनुसार फल पाएकी छु, त्यसैमा खुसी छु ।

‘गायिका कला लम्साल’ भनेर चिनाउने गीत कुन हो ?
मेरो लागि सबै गीत उस्तै हुन् । हरेक गीतको आफ्नै भाव र विशेषता हुन्छ । मेरो बढी रुचाइएको गीतचाहिँ ‘पातली’ हो । जुन गीतले भ्युज पनि बढी पाएको छ ।

उक्त गीत आफूलाई नै कम्पाएर गरेर गाउनुभएको हो ?
म अहिले पनि पातली छु । तर, जुन बेला ‘पातली’ बोलको गीत गाएकी थिएँ । त्यसबेला अहिले भन्दा अलिक पातली थिएँ होला ।

तपाइँ मोडलिङ पनि गर्नुहुन्छ ?
आफ्नो गीतको भिडियोमा गर्छु । तर, अहिलेसम्म अरुको गीतको भिडियोमा मोडलिङ गरेकी छैन ।

मोडलिङका लागि अफर कतिको आउँछ ?
अफर आइरहेको हुन्छ । मलाई फिल्मका लागि समेत अफर आएको थियो । तर, त्यो बेला समयले साथ दिएन । खाशमा मलाई रुची पनि थिएन । गायिका नै बन्छु भनेर अगाडि बढेकी हुँ । मेरो इच्छा गायिकाकै रुपमा चिनिनु हो ।

अहिलेको अवस्थामा अफर आयो भने गर्नुहुन्छ ?
यदि मलाई म्याच गर्ने खालको गीतको भिडियोमा अफर आयो भने गर्छु । जस्तोसुकै भिडियोचाहिँ गर्दिनँ ।

प्रतिक्रिया दिनुहोस्