काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को आज राजनीतिक समितिको बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा बस्ने बैठकमा नेकपा माओवादी केन्द्रसँग एकता गर्ने विषयमा छलफल हुने भएको छ । साथै, एकताका लागि वार्ता समिति बनाउने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईबीच शनिबार बालुवाटारमा भएको छलफलमा पार्टी एकता गर्ने सहमति भएको थियो ।

आज बस्ने बैठकमा उक्त पार्टी एकताको प्रस्ताव पेश गरिने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिएका छन् । उक्त प्रस्ताव बैठकले पारित गरेपछि माओवादीसँगको एकता प्रक्रियालाई मूर्तरुप दिइने भएको छ ।
शनिबार भएको प्रधानमन्त्री प्रचण्ड र नेकपा अध्यक्ष भट्टराईबीच भउको भेटवार्तामा दुई पार्टीबीच एकता, यही पुस २६ गते सरकारलाई विश्वासको मत दिने र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको थियो ।
साथै, बैठकमा समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनिती लगायत एजेण्डामाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताएका छन् ।












