काठमाडौं । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासमा मत दिने बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न जसपाका अध्यक्ष यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्तापछि जसपाका अध्यक्ष यादवले पत्रकारसँग संक्षिप्त कुरा गर्दै भने, ‘विश्वासको मत दिनेमा कुनै शंका छैन ।’ तर, एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने कुनै प्रतिक्रिया दिएनन् ।
अध्यक्ष नेपालले यसअघि नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने त्यही दिन थाहा हुने बताइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते अर्थात मंगलबार संसदमा विश्वासको मत लिँदैछन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पनि यादव र नेपालसँगको छलफल सकारात्मक भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भनेका छन्, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ । छलफल सकारात्मक भएको छ ।’ भेटमा पार्टी एकताबारे पनि छलफल भएको बताइएको छ ।












