Logo
ब्लग

‘प्रतिगमनकारी’ शब्दले पलपल सताउँछ, पलपल रूवाउँछ



काठमाडौं । राम्रो कामले मरणोपरान्त पनि सम्मान पाइन्छ । जीवनकालमा त्यसबारे थप बोल्नु पर्दैन, प्रश्नहरूको जवाफ सामना गर्नु पर्दैन ।

तर, नराम्रो काम गर्दा लाग्ने ‘ट्याग’ र बन्ने मानकले न जीवनकालमा सुखले बाच्न दिन्छ, न प्रश्नहरूले पछ्याउनै छोड्छ । भौतिक चोला समाप्तिपछि पनि पछ्याइरहन्छ । जीवनकालभर त प्रश्नहरू सामना गर्नु पर्छ नै, शेषपछि पनि नराम्रो सवालहरूको ‘मानक’ बन्नुपर्ने हुन्छ ।

हिटलरहरू क्रुरताका मानक बने, माओहरू क्रान्तिका नायक बने । र, वुद्धहरू शान्तिका प्रतीक । उनीहरू भौतिक रूपमा हामीमाझ छैनन् । तर, उनीहरूले जीवनकालमा गरेका राम्रा नराम्रा कामहरू आज पनि जीवित छन् ।

नेपालको सन्दर्भमा यस्ता धेरै राजनीतिक तथा सामाजिक घटनाहरू छन् । जुन घटनाहरू कुनै न कुनै रूपमा जीवन दर्शनका उदाहरणा बनेर बाँचेका छन् । राम्रो काम गर्नेहरू सम्मान र नराम्रो काम गर्नेहरूप्रति अझै पनि घृणा हुन्छ ।

जीवनकालमा गरेका गल्तीहरू कोही शेष अगावै सच्याउने अवसर पाउँछन् । र, राम्रो इतिहास बनाउँदै नराम्रो इतिहास ओझेल पारेर बिदा हुन्छन् । तर, सबैमा नराम्रो इतिहास सच्याउने साहस र अवसर मिल्दैन । ज्ञान नै प्राप्त गर्दैनन् । ज्ञान प्राप्त गरे पनि इच्छाशक्ति राख्दैनन् ।

आज नेपाली नेपाली राजनीतिका मूर्धन्य केपी शर्मा ओली सोही मोडमा पुगेका छन् । राजनीति र जीवनकालको पनि उत्तरार्द्धमा ओलीले ०७७ पुस ५ मा असंवैधानिक कदम चाले । त्यो कदमले ओलीको नाममा ‘प्रतिगमनकारी’ विशेषण थपिदियो । आज सोही विशेषणले ओलीलाई पछ्याइरहेको छ, सताइरहेको छ, आक्रोशित बनाइरहेको छ, रूवाइरहेको छ ।

विधानतः ओलीलाई संसद् विघटन गर्ने अधिकार वा सुविधा थिएन । अर्थात, संसद्ले सरकार दिनसक्ने अवस्था रहँदासम्म संसद् विघटन गर्नु असंवैधानिक हुन्थ्यो, हुन्छ । संविधानविपरीत कार्य गर्नु व्यवस्थाविरूद्ध हुन्थ्यो, भयो र हुन्छ । त्यसैले ओली आजसम्मका लागि ‘प्रतिगमनका मानक’ बने ।

आज सोही असंवैधानिक कदमले ओलीलाई बारबार घोचिरहेको छ, पलपल झस्काइरहेको छ, पाइला पाइलामा पछ्याइरहेको छ । राजनीतिक जीवनकालमै अधिक राम्रो काम गरे पनि शेषपछि पनि कुनै न कुनै रूपमा ओलीले यो सवालबाट छुटकारा पाउने छैनन् । राम्रो काम गरेर बिदा भए पनि कुनै न कुनै परिस्थितिमा ‘ओली प्रतिगमन’को चर्चा त हुन्छ नै ।

घटनाक्रम अघिल्लो संसद्को हो । उक्त संसद्ले जसोतसो कार्यकाल पूरा गरेर अर्को संसद् पनि आइसक्यो । र, ओलीलाई प्रतिगमनकारी भन्नेहरू पनि विस्तारै कम हुँदै गएका छन् । तर, ओलीलाई भने सोही ‘प्रतिगमन’ शब्दले सताइरहेको छ ।

सोमबार नयाँ संसद्को पहिलो बैठक थियो । संसद्मा प्रतिनिधित्व गर्ने दलको नेताका हैसियतमा सभालाई सम्बोधन गरे । उक्त सम्बोधनमा पनि प्रतिगमनकारी बिल्ला भिराइएकोप्रति दुखेसो पोखे । आफ्नो कदम असंवैधानिक र प्रतिगमन नरहेको दलिलहरू पेश गर्न खोजे, आफूलाई त्यो आरोपबाट सफाइ दिने प्रयत्न गरे ।

ओलीको कथन थियो–
प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भनियो । बेलायतमा त कति पल्ट प्रतिगमन भएछ, भएछ । संसदीय प्रणालीको जननी देशमा प्रतिगमन अस्तिसम्म पनि भकोभकै थियो । त्यति धेरै जान्ने पनि अलि नहुँ कि ? मौका अनुसारको ख्याया यति धेरै पनि नगरौं कि जस्तो पो लाग्छ ।

कस्तो कदमलाई प्रतिगमन भन्ने ? ओलीको दलिल–
प्रतिनिधिसभा भंग हुनु प्रतिगमन होइन । जनताका अधिकारका लागि जनतामा जानु, जनअभिमतका लागि जनतामा जानु र जनताको अधिकार सार्वभौम सत्ताबाट आदेश प्राप्त गर्नु प्रतिगमन होइन । संसदबाट सरकार बन्नु र संसदबाट सरकार ढल्नु प्रतिगमन होइन । अन्यत्र लगेर षड्यन्त्रबाट सरकार ढाल्नु प्रतिगमन हो ।

आफ्नो कदम प्रतिगमन थिएन भनेर प्रतिगमनकारी आरोप खण्डन गर्ने प्रयत्न गरेका ओलीले वर्तमान सत्ता गठबन्धनले प्रतिगमन नगर्ने प्रतिवद्धता समेत जाहेर गरे–

उनले भने– ‘अहिलेको गठबन्धन प्रतिगमनको पक्षमा छैन, जाँदैन । कू ठाउँबाट सरकार बनाउने खेलमा जाँदैन । गठबन्धन राष्ट्रियताको पक्षमा छ ।’

०००

ओलीले यस्ता दलिल आजमात्रै पेस गरेका होइनन् । हरेक मञ्चहरूमा यसै भन्दै आएका छन् । हिजो प्रतिगमनकारी भनेर सत्ताच्यूत गर्ने प्रचण्डलाई प्रधानमन्त्री बनाएर पनि ओलीमा त्यो पीडा कम भएको छैन । प्रचण्डलाई नै अघि राखेर प्रतिगमनकारी भनेकोमा चित्त दुखाइरहेका छन् ।

ओलीको कदम संविधानविपरीत थियो भन्ने न्यायलयले पुष्टि गरेको छ । जनताले स्वतन्त्र रूपमा प्रतिगमन नै भनेका छन् । कसैले पनि संविधानविपरीत गरिएको उक्त कदम ठीक भनेका छैनन् । त्यसैले ओलीलाई सोही कुराले पोलिरहेको छ, पिरोलिरहेको छ । र, ओलीको जीवनकाल र शेषपछि पनि ओलीसँग ‘प्रतिगमन’ कुनै न कुनै रूपमा जोडिने नै छ ।

०००

मान्छेबाट गल्तीहरू हुन्छन् । तर, गल्तीहरू स्वीकार्ने र सच्याउने खास क्षमता र साहस हुनुपर्छ । कम्युनिष्टहरूमा त झन चोख्याउने वा चोखिने सन्दर्भमा ‘आत्मआलोचना’ भन्ने शब्द खुब प्रयोग हुन्छ । व्यवहारमा पनि कतिपयले लागू गर्दै आएका छन् । त्यसो भए ओलीले गल्ती स्वीकार्दै आत्मआलोचना गरे बिग्रने त केही छैन । तर, ओली तयार छैनन् ।

‘विगतमा गल्ती भयो’ भन्ने हिम्मत ओलीले जुटाउने हो भने बारम्बार यी प्रश्नहरूले यसरी नै घोच्ने थिएनन्, पछ्याइरहने थिएनन् । र, बारबार जवाफ दिइरहनु गर्दैन्थ्यो । तर, ओलीसँग त्यो साहस छैन, त्यो आचरण छैन, त्यो चाह छैन ।

ओली आडम्बरका चुली हुन्, घमण्डका पहाड हुन् । उनीसँग गल्ती सच्याउने विशेष क्षमता छैन । आत्मआलोचना गर्ने आचरण छैन । त्यसैले गल्ती स्वीकार्न सकेका छैनन्, आत्मआलोचना गर्न सकेका छैनन् । त्यसैको पिरलोमा पलपल जलिरहेका छन् ।

गल्ती सच्याउन ओलीसँग समय छ । चाहने हो भने सम्भव पनि छ । नेकपा विघटन, एमाले विभाजन, असंवैधानिक रूपमा संसद् विघटन जस्ता गल्तीहरू सच्याउने अवसर पनि छ । कम्तिमा राम्रो काम गर्ने अदम्य साहस नभए पनि गल्ती स्वीकार गर्ने हिम्मत जुटाउन सके कम्तिमा जीवनकालमा बारबार जवाफ दिइरहनु पर्दैनथ्यो कि ?

प्रतिक्रिया दिनुहोस्