
काठमाडौं । पूर्व एमाले नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । एकीकृत समाजवादीले वाम एकताका लागि गठन गरेको वार्ता समितिसँगको वार्तापछि भुसाल एकीकृत समाजवादी प्रवेश गर्न तयार भएका हुन् ।
एकीकृत समाजवादीको उपमहासचिव डा. विजय पौडेलका अनुसार भुसालले वार्ता समितिलाई ‘कम्युनिष्ट आन्दोलनको पुनःगठन, रुपान्तरण र एकीकरणका लागि प्रस्ताव’ लेख्दै एकीकृत समाजवादी प्रवेश गर्न तयार भएका हुन् ।
उपमहासचिव पौडेलले भने– ‘हाम्रो वार्ता समितिले कमरेड घनश्यामसँग वर्ता गरेको छ । उहाँ हाम्रो पार्टीमा प्रवेश गर्न सहमत हुनु भयो । उहाँले आगामी दिनमा सैद्धान्तिक–वैचारिक मतभेद नरहोस भन्ने बुझाइका साथ वार्ता समितिलाई विशेष प्रस्ताव समेत लेख्नु भएको छ । उहाँ भोलि वा पर्सीभित्र पार्टी प्रवेश गर्नुहुने छ ।’
भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएपछि उनको जिम्मेवारीको विषयमा समेत छलफल भएको छ । तत्कालका लागि भुसाल सचिवालय सदस्यको जिम्मेवारीमा रहने र पछि थप जिम्मेवारी तोकिने उपमहासचिव पौडेलले जानकारी दिए ।
एमालेमा रहँदा अध्यक्ष केपी ओलीको आलोचना गर्दै आएका कारण मंसिर ४ को निर्वाचनमा पार्टीले टिकट खोसेको थियो । पार्टीले टिकट नदिएपछि रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार बनेका वैचारिक नेता भुसाल पराजित भएका थिए ।
निर्वाचनपछि एमालेले निर्वाचनमा पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै भुसाललाई साधारण सदस्यसमेत नरहे गरी कारबाही गरेको थियो ।












