जनकपुरधाम । गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मङ्गलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन ।

गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न ढिलाइ भएको र अन्य व्यवस्थापकीय तयारी बाँकी रहेको जनाएपछि दाबी पेश गर्न नसकिएको जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश प्रमुख रामबाबु यादवले जानकारी दिए ।
यसअघि जसपा मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै सरकार गठनका लागि मङ्गलबार नै दाबी पेश गर्ने भनिएको थियो ।
प्रस्तावित मुख्यमन्त्रीका दावेदार जसपा मधेस प्रदेश संसदीय दलका नेता यादवले पनि सत्ता गठबन्धनका अन्य दलले तयारी नपुगेको भनेपछि मङ्गलबार दाबी पेश हुन नसकेको बताए ।
उनका अनुसार सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले मङ्गलबार दिउँसोसम्म संसदीय दलको नेता चयन गर्ने र अन्य दलले पनि आन्तरिक तयारीपछि दिउँसो ४ बजेसम्म दाबी पेश गर्ने भनिएको थियो तर माओवादी केन्द्रले दलको नेता चयन गर्न सकेन ।
प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही २८ पुस दिउँसो ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका छन् । केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।












