Logo
Logo

घनश्याम एकीकृत समाजवादीको महासचिव बन्छन् ?


7.2k
Shares

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने पक्का भएको छ । सम्भवत शुक्रबार पार्टी प्रदेश गर्दैछन् ।

घनश्याम पार्टी प्रवेश गर्ने पक्का भएसँगै उनले पाउने जिम्मेवारीको विषयमा समेत चासो र छलफल सुरु भएको छ । बजारकै चर्चालाई आधार मान्ने हो भने उनी महासचिव बन्दैछन् ।

घनश्याम एकीकृत समाजवादीको महासचिव बन्ने चर्चा चले पनि घनश्यामलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा पार्टीमा छलफल भएको छैन । प्रवक्ता जगन्नाथ खतिवडा भन्छन्– ‘घनश्याम कमरेड पार्टीमा आउने पक्का भइसक्यो । सैद्धान्तिक वैचारिक विषयमा सहमति भएको छ । तर, उहाँको जिम्मेवारीको विषयमा छलफल भएको छैन । उहाँ पार्टी प्रवेश गरिसकेपछि यस विषयमा छलफल हुन्छ ।’

पार्टी प्रवेश गरेपछि घनश्याम पहिलो चरणमा सचिवालय सदस्य बन्ने सम्भावना रहेको बुझिन्छ । पहिलो चरणमा सचिवालय सदस्य बनाउने एकीकृत समाजवादीको तयारी रहेको छ । त्यसपछि बस्ने केन्द्रीय समितिले मात्र घनश्यामको ठोस जिम्मेवारी तोक्न सक्ने प्रवक्ता खतिवडाको भनाइ छ ।

खतिवडाले भने– ‘अहिलेको सन्दर्भमा सर्वोच्च निकाय भनेको केन्द्रीय कमिटी हो । छिट्टै बस्ने केन्द्रीय कमिटीले घनश्याम कमरेडको ठोस जिम्मेवारीबारे निर्णय गर्नसक्छ, गर्नेछ । अहिलेको भएको कुरा भनेको उहाँ पार्टी प्रवेश गर्ने मात्र हो । कुन जिम्मेवारी दिने वा लिने भन्दा पनि उहाँसँग सैद्धान्तिक वैचारिक विषयमा सहमति जुटेको हो ।’

घनश्याम महासचिव बन्न सक्ने अवस्था
अहिलेकै अवस्थामा घनश्यामलाई महासचिव बनाउन वर्तमान महासचिव वेदुराम भुसाललाई अपग्रेड गर्नु एकमात्र विकल्प हो । 

केन्द्रीय कमिटीले विधान संशोधन गरेर वेदुरामलाई उपाध्यक्ष वा वरिष्ठ उपाध्यक्ष बनाउने हो भने घनश्याम महासचिव बन्ने सम्भावना रहन्छ । प्रस्तुत विकल्पमा एकीकृत समाजवादीभित्र अनौपचारिक रुपमा छलफल हुने गरेको छ ।

पार्टीले उपाध्यक्ष वा वरिष्ठ उपाध्यक्ष बनाउने निर्णय गर्दा वेदुराम तयार भएको अवस्थामा घनश्याम महासचिव बन्ने सम्भावना रहन्छ । नत्र, धनश्याम उपाध्यक्षकै जिम्मेवारीमा रहनुपर्ने सम्भावना देखिन्छ ।

घनश्यामलाई महासचिव बनाउनुपर्ने मत
एकीकृत समाजवादीमा घनश्याम आए महासचिव बनाउनुपर्छ भन्ने मत ठूलै छ । वर्तमान महासचिव बेदुरामप्रति एकीकृत समाजवादीमा नकारात्मक धारणा नरहे पनि घनश्यामलाई महासचिव बनाउन पाए पार्टीले थप गति लिने धेरैको बुझाइ छ ।

तर, भर्खरै पार्टी प्रवेश गरेका घनश्यामलाई महासचिव बनाइहाल्न नहुने मत पनि उत्तिकै बलियो छ । विद्रोहको समयमा साथ छोडेका घनश्यामलाई महासचिव स्वीकार्न नसकिने पनि कतिपयको धारणा रहेको छ ।

संगठनात्मक संरचना परिवर्तन गर्ने घनश्यामको चाहना
धनश्याम कम्युनिष्ट पार्टीले संगठनात्मक संरचना परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका छन् । एमालेमा हुँदा पनि उनले यस विषयमा लामो समयदेखि बहस चलाउँदै आएका थिए ।

पार्टी प्रवेशका लागि एकीकृत समाजवादीको वार्ता टोलीसँग छलफल गरेपछि घनश्यामले वार्ता समितिलाई लेखेको पत्रमा पनि उनले यस विषय उठाएका छन् ।

वर्तमान संगठनात्मक संरचनाले आम नागरिकलाई पार्टीमा सहज पहुँच नहुने भएकाले सबैले आफ्नो पार्टी मान्न सहज हुने किसिमको संगठनात्मक संरचना बनाउनेपर्ने उनको जोड छ ।

पार्टीमा महासचिव संगठन प्रमुख हुन्छन् । यस आधारमा घनश्याम एकीकृत समाजवादी प्रवेश गर्दै महासचिव बन्ने अवसर पाए उनले भन्दै आएको संगठनात्मक संरचना परिवर्तनका लागि काम गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्