Logo
Logo

सी जिनपिङमय बन्दैछ नेपाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असोज । मुलुक यतिबेला ऐतिहासिक परिघटनाबाट अगाडि बढेको छ । विश्व मानचित्रमा सबैभन्दा ठूलो समाजवादी देश चीन र समृद्धिको सपना कोर्दै गरेको नेपालको सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच पहिलोपटक विचारधारात्मक सम्बन्ध स्थापित हुँदैछ । समृद्धिको मुख्य लक्ष्य पूरा गर्ने अभियानमा रहेको नेकपाले चीनसँग राजनीतिक सम्बन्ध जसरी अघि बढाउँदैछ, त्यसले केही वर्षभित्रै नेपालमा समृद्धिको कायापलट हुने सम्भावनाको ढोका उघारेको छ । त्यसैले पनि नेकपा स्कुल विभागको आयोजनामा सोमबारबाट राजधानीमा सुरु भएको विचारधारात्मक छलफललाई सिंगो मुलुकले नियालिरहेको छ ।

ऐतिहासिक परिघटना
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउनुपूर्व दुई देशका दुई कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल चलेको हो । नेपालको इतिहासमा पहिलोपटक भएको यसखालको छलफलमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले चिनियाँ टोलीको नेतृत्व गरेका छन् । छलफलमा करिब दुई दर्जन चिनियाँ नेता सहभागी छन् । छलफलमा चिनियाँ पक्षबाट चारवटा कार्यपत्र पेश भएका छन् । ती कार्यपत्र सीपीसीको पछिल्लो महाधिवेशनले लिएका लक्ष्य र त्यसका आधारमा राष्ट्रपति सीले अघि सारेका विचार र योजनाहरूमा केन्द्रित छन् । यस्तै, करोडौँ सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टीभित्रको अनुशासन व्यवस्थापनबारे पनि छलफल हुँदैछ ।

सोमबार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, चिनियाँ अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङले धारणा व्यक्त गरे । सोङले मध्यम आए भएको चिनियाँ समाज कसरी विकासको गतिमा दौडियो, विश्व अर्थतन्त्रमा कसरी प्रभाव छाड्न सफल भयो भन्नेबारे विस्तृत चर्चा गरेका थिए । उनले आफ्नो धारणा राख्ने क्रममा सन् २०५० सम्ममा समुन्नत समाजवादी समाज स्थापना गर्ने र विश्वको सबैभन्दा शक्तिशाली मुलुक बन्ने चीनको लक्ष्यबारे धारणा राखेको एक सहभागीले दृष्टिलाई बताए । यस्तै, नेकपा अध्यक्ष प्रचण्डले नेकपाको नीति तथा कार्यक्रम, नेपालको संविधान निर्माणको यात्रालगायतका विषयमा धारणा राखेका थिए ।

बहुप्रतिक्षीय भ्रमण
दुई कम्युनिष्ट पार्टीबीचको पहिलो विचारधारात्मक अन्तरक्रिया चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको केही साताअघि मात्र भएको छ । यसर्थ पनि यो छलफलले सीको नेपाल भ्रमणलाई अझ बढी उपलब्धिमूलक बनाउने अपेक्षा गरिएको छ । चिनियाँ राष्ट्रपतिको यो भ्रमण बहुप्रतिक्षित भ्रमण हो । सी असोज २६ गते नेपाल आउने तय भएको स्रोतहरूले जनाएका छन् । नेपाल भ्रमणको क्रममा राष्ट्रपति सी होटल सोल्टीमा बस्ने छन् । दुईपक्षीय भेट तथा औपचारिक कार्यक्रम पनि त्यहीँ गर्ने गरी तयारी भइरहेको छ । राष्ट्रपति सीलाई हनुमानढोका र पाटन दरबार स्क्वायर घुमाउने तथा टुँडिखेलमा राजकीय सम्मान दिने कार्यक्रम छ ।
त्यसोतः सीको भ्रमणलाई केन्द्रमै राखेर भदौ २२ मा चिनियाँ विदेशमन्त्री वाङ यीले तीन दिने नेपाल भ्रमण गरेका थिए । सो भ्रमणपछि नै चीनले राष्ट्रपति सीको नेपाल भ्रमणको टुंगो लगाएको हो । केही साताअघि पनि चिनियाँहरूको एउटा ठूलै टोली सोल्टीमा बसेर त्यहाँको अवस्थाबारे जानकारी लिएको थियो । सो टोलीमध्येका केहीले होटल परिसरदेखि कालिमाटी आसपाससम्मका गल्ली पुगेर फोटो र दृष्य खिच्ने काम गरेका थिए । सुरक्षा व्यवस्थातर्फको सतर्कताका कारण त्यसो गरिएको भनाइ छ । चिनियाँहरुको दोस्रो टोली फेरि नेपाल आउने र भ्रमणको अन्तिम तयारी गर्ने बताइन्छ । चिनियाँ सुरक्षा टोलीले आफ्नै तरिकाले भ्रमणका लागि सुरक्षा रणनीति बनाएको बुझिएको छ ।

समृद्धिका सम्भावित एजेन्डा
निकै लामो प्रतीक्षापछि हुन लागेको सो भ्रमणले नेपालको विकासमा ठूलो टेवा दिने विश्वास गरिएको छ । विशेष गरी ओलीको पहिलो प्रधानमन्त्रीकालमा चीनसँग भएका थुप्रै समझदारीलाई सीको भ्रमणले अनुमोदन गर्नेछ । पारबहन सम्झौता, केरुङ–काठमाडौं रेलमार्ग निर्माण, केरुङ–काठमाडौं सुरुङ मार्गसहितको सडक निर्माण, कोदारी राजमार्गको स्तरोन्नति, काठमाडौंको चक्रपथ विस्तार, मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण, किमाथाङ्का र तमोर जलविद्युत आयोजना निर्माण, किमाथाङ्का–जोगबनी राजमार्ग, कोरला भञ्ज्याङ मार्ग निर्माणलगायत वैदेशिक बन्द व्यापार तथा आधारभूत आवश्यकताको आपूर्तिका लागि नेपालले खोजेको दोस्रो निकासीको विकल्पको टुंगो लाग्ने विश्वास गरिएको छ ।

नेपालको विश्वास जित्ने चीनको लक्ष्य
राष्ट्रपति सीको भ्रमणका क्रममा चिनियाँ नेतृत्वको ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)का विषयमा थप गहन छलफल हुने बताइएको छ । बीआरआईसँग जोडिइसकेको नेपालले यसबाट प्राप्त गर्ने लाभका विषयमा पनि व्यापक चर्चा हुनेछ । विशेषतः पछिल्लो केही महिनादेखि अमेरिकी नेतृत्वको ‘इन्डो प्यासिफिक रणनीति’मा नेपाललाई पनि जोड्ने अमेरिकी दबाबका कारण पनि चिनियाँ बीआरआईसँगको आवद्धताले यसपटक थप चर्चा पाउने विश्लेषण गरिएको छ । अमेरिकी नेपाललाई इन्डो प्यासिफिक रणनीतिको सदस्यमा तान्ने प्रयास गरिरहेको छ भने अमेरिकी रणनीति चीन लक्षित रहेको आशंका गर्दै चीन त्यसो नहोस् भन्ने चाहिरहेको छ । यस्तोमा नेपालले केही समय यतादेखि नै चीनलक्षित कुनै पनि गठबन्धनमा नजोडिने र कुनै पनि सैन्य रणनीतिको हिस्सा नबन्ने स्पष्ट पारेर चीनलाई आश्वस्त बनाइरहेको छ ।

नेपालको चाहना समृद्धि
ओली नेतृत्वको सरकार र नेकपाको सिंगो पहल उत्तरको छिमेकी चीनसँग नयाँे आधारमा नयाँ सम्बन्धको खोजीमा लागेको देखिन्छ । चीनको तीव्र आर्थिक प्रगति, चीनले अघि बढाएको सी विचारधारा, विशाल चीनको जनसंख्याबाट नेपालले प्रत्यक्ष लाभ प्राप्त गरोस् भन्ने चाहना वर्तमान सरकार नेकपाको रहेको छ । र, त्यो चाहनाको अन्तर्यमा नेपालको समृद्धि र नेपालीको खुसी लुकेको छ ।

प्रतिक्रिया दिनुहोस्