
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले पीडित नाबालिगसँग सम्पर्क गर्न नपाउने भएका छन् । सम्पर्क गरेको खण्डमा पुनः थुनामा जाने भएका छन् ।
उच्च अदालतले सन्दीपलाई जाहेरीकर्ता वा उनका परिवारका सदस्यलाई भेट्न वा कुनै पनि माध्यमबाट सम्पर्क गर्न रोक लगाएको छ ।
आदेशमा भनिएको छ– ‘आफू वा आफूसंवद्ध संस्था वा व्यक्तिहरुबाट जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारको कुनै सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाव दिने, प्रभाव वा दुरुत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।’
अदालतले सन्दीपलाई पीडित किशोरीसँग वा उनको परिवारका सम्बन्धका बारेमा वा मुद्दाको बारेमा अभिव्यक्ति दिन, मुद्दाको विषयमा सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा टीका टिप्पणी गर्न रोक लगाइएको छ ।
अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले अदालतले सन्दीपलाई पीडित युवतिसँग सम्पर्क नगर्न आदेश दिएकाले सम्पर्क गरेको पुष्टि भएमा उनलाई पुनः थुनामा पठाइने जानकारी दिएका छन् ।
बिहीबार उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालती प्रकृया पूरा गर्नुपर्ने भएकाले उनी शुक्रबार मात्रै थुनामुक्त हुने छन् ।











