Logo
Logo

‘एमाले-माओवादी पछि फर्के, एकीकृत समाजवादी ‘नेकपा’को उत्तराधिकारी’



काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रवेश गरेका पूर्व एमाले घनश्याम भुसालले नेकपा एकीकृत समाजवादी तत्कालीन एकीकृत पार्टी ‘नेकपा’को उत्तराधिकारी रहेको दाबी गरेका छन् ।

पार्टी प्रवेश गर्नुअगाडि नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै नेता भुसालले नेकपा विभाजनपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुरानै अवस्थामा फर्केका कारण नेकपाको निरन्तरता र उत्तराधिकारी पार्टी एकीकृत समाजवादी नै रहेको दाबी गरेका हुन् ।

तत्कालीन नेकपा विभाजन भएपछि बनेका तीन पार्टी एमाले, माओवादी र एकीकृत समाजवादीबारे नेता भुसालले तीन धारणा राखेका छन् । उनले, माओवादी फर्केर जनयुद्धबाट नेपालको इतिहासलाई हेर्ने ठाउँमा पुगेको बताएका छन् भने एमाले हिजोको एमालेको दृष्टिबाट मात्र नेपालको कम्युनिष्ट आन्दोलन हेर्ने ठाउँमा पुगको दाबी गरे ।

तर, एकीकृत समाजवादी भने इतिहास र भावी सिद्धान्त दृष्टिमा ‘नेकपा’को निरन्तरता र उत्तराधिकारी रहेको उनको निष्कर्ष रहेको छ ।

एमाले, माओवादी र एकीकृत समाजवादीबारे घनश्यामको धारणा–
सैद्धान्तिक रुपमा समाजवादतर्फ जाने भनेर ‘नेकपा’ बनाइएको थियो । राजनीति र अदालतको गठजोडले पार्टी विभाजन गराइयो, सड्यन्त्रपूर्ण राजनीति र बिकाउ अदालतले पार्टी विभाजन गरायो ।

माओवादी फर्केर जनयुद्धबाट नेपालको इतिहासलाई हेर्ने ठाउँमा पुगेको छ । एमाले हिजोको नेकपा एमालेको दृष्टिबाट मात्र नेपालको कम्युनिष्ट आन्दोलन हेर्ने ठाउँमा पुग्यो ।

नेकपा एकीकृत समाजवादी त्यो ठाउँमा छ– जहाँबाट यसले समग्रतामा हेर्न सक्छ । यो असाधारण ठाउँ हो । सैद्धान्तिक रुपमा इतिहासको सारा वैभवमाथि बसेर अगाडिको बाटो तय गर्नका लागि यो धेरै राम्रो ठाउँ हो ।

माओवादीको दस्ताबेज हेर्दा समाजवादी कार्यदिशा छ । तर, माओवादलाई सिद्धान्तको टोपी बनाएको छ । आजको कार्यदिशा माओवादले समेट्नै सक्दैन, माओवादीले सोही टोपी लगाएको छ । आजको नेपाली मौलिकताको समाजवादी कार्यदिशामा माओवाद र जनयुद्धको टोपी लगाइदिएर मिल्दैन । पार्टी विभाजनपछि माओवादी त्यहाँ फर्केको छ ।

नेकपा एमालेले सिद्धान्ततः जनताको बहुदलीय जनवादलाई ०४७ को संविधानमा लग्यो । एमालेले जबजको ब्याज लगाएर सुद खाने बाटो मात्रै समातेको छ । दावाका साथ भन्छु– कसैले एक पेज राम्रो सिद्धान्त र इतिहासको प्रकाशमा जनताको बहुदलीय जनवादको एक लाइन लेखे छैन त्यो पल्टन जनताको बहुदलीय जनवाद भनेर हिड्छ । सौराहा काण्डका नेताहरू जबजवादी भएपछि मदन भण्डारीको हुर्मत तिनी बाहेक कसले लिएको छ यो देशमा ? सौराहा काण्डका नेताहरू जनताको बहुदलीय जनवादी भएपछि त्यहाँ एमाले फस्यो ।

यो दृष्टिले एकीकृत समाजवादी असाध्य राम्रो ठाउँमा छ । एकीकृत समाजवादी आज पनि त्यो कमजोरीबाट बचेको छ । यस अर्थमा सिद्धान्ततः नेकपाको खास आजको उत्तराधिकारी हो । त्यो एकीकृत कम्युनिष्ट पार्टीको इतिहास र भावी सिद्धान्तको प्रतिनिधिका हिसाबले एकीकृत समाजवादीको ठाउँ छ । तर, नबौं महाधिवेशनका बाँकी कामहरू पूरा गर्नुपर्छ ।

(एकीकृत समाजवादी प्रवेश गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा नेता भुसालले राखेको धारणा ।)

भिडियो हेर्नुहोस–

प्रतिक्रिया दिनुहोस्