Logo
Logo
कला

‘म खुला किताब हुँ’



‘बोल्डनेश’ अहोदाका कारण चर्चामा आइरहने अभिनेत्री हुन् सुष्मा अधिकारी । भोजपुरी फिल्मबाट चर्चा कमाएकी अभिनेत्री सुष्माले म्युजिक भिडियोमार्फत कलाकारिता क्षेत्रमा करिअर सुरु गरेकी हुन् । तर, पछिल्लो समय उनी मोडलिङमा भन्दा भोजपुरी फिल्मलगयतमा व्यस्त छिन् । ग्ल्यामरस एक्सपोजकै कारण कामभन्दा बढी उनी चर्चामा हुन्छिन् । बोल्ड अभिनेत्री सुष्ममा भन्छिन्, ‘म बोल्ड छैन । बरु हट सेक्सी छु ।’

त्यसो त सुष्माका लागि ‘विकिनी सुट’ नर्मल हो । उनी भन्छिन्, ‘तर अहिलेसम्म म्युजिक भिडियोमा मात्र विकिनी शट दिएकी छु, फिल्ममा दिएकी छैन ।’ धनगढीकी सुष्मा यो साता काठमाडौंको सिटी सेन्टरस्थित बज्र फिटनेश एण्ड जिम सेन्टरमा ब्यायाम गरिरहेको अवस्था भेटिइन् । यिनै अभिनेत्री तथा मोडल सुष्मा अधिकारीसँग एमपी सुब्बाको जम्काभेट :

जिम गर्न थाल्नुभएको कति भयो ?
जिम जोइन गरेको एक वर्ष जति भयो । तर, नियमित छैन । कामले गर्दा बेला बेला ग्याप भइरहेको हुन्छ ।

जिम खाश केका लागि गर्नुहुन्छ ?
आफूलाई फिट राख्न । साथै, जिम गर्नु स्वास्थ्यका लागि पनि राम्रो हो । त्यसैले फुर्सदमा जिम गर्दै आएकी छु ।

भारतीय मिडियामा छाइरहनु हुन्छ । उता गइरहनु हुन्छ ?
त्यस्तो होइन, म काठमाडौंमै बस्छु । मैले भोजपुरी फिल्महरु पनि गरिहेको हुन्छु । त्यही भएर भारतीय मिडियामा न्युजहरु आइरहेको हुन्छ । मेरोबारे भारतीय सञ्चारमाध्यममा न्युजहरु आइरहँदा मुम्बईमा बस्छ भन्ने अरुलाई भान हुँदोरहेछ ।

भोजपुरी फिल्ममै व्यस्त हुनुहुन्छ । नेपालीमा अफ नआएर हो ?
अफर आइरहेको हुन्छ । तर, नेपाली फिल्मको स्टोरी र थिम नै मनपर्दैन । त्यसैले पछिल्लो समय खाशै नेपाली फिल्म गरेकी छैन । सुरुमा नेपाली नै गरेकी हुँ ।

अहिलेसम्म कति भोजपुरी फिल्म गर्नुभयो ?
भोजपुरी फिल्मचाहिँ तीनवटा मात्र गरेकी छु् । साथै, भोजपुरी गीतको भिडियोहरु पनि गर्दै आएकी छु ।

हिजोआज चाहिँ नेपाली गीतको भिडियोमा मोडलिङ गर्नुहुन्छ कि हुुन्न ?
गर्दै आएकी छु । तर, पहिले जस्तै धेरैचाहिँ गर्दिन । महिनामा दुई-तीन वटासम्म भिडियो गर्दै आएकी छु । पहिले त महिनामै १५÷१६ वटासम्म भिडियो गर्थेँ ।

नेपाली म्युजिक भिडियो कम गर्नूको कारण ?
कारण खाशै छैन । भिडियोमा लागि अफर नआएको होइन । तर, पहिलेजस्तो जे पायो, त्यही गर्दिन । डिमाण्ड पनि बढाएकी छु । अर्को कुरा अहिले टिकटकका कलाकारहरुले मार्केट लिइरहेको छ ।

भोजपुरी फिल्म इण्डष्ट्रिमा फस्ट इन्ट्री कसरी भयो ?
कलाकार भएपछि यो र त्यो भन्ने हुँदैन । कलाकारको मुख्य पार्ट भनेको अभिनय हो । अनि अर्को कुरा, पारिश्रमिक मात्र नभएर काम पनि भोजपुरीमा राम्रो लाग्यो । टिम पनि ठूलो हुने र कलाकारलाई पनि भगवान जस्तै ट्रिट गर्ने भएकाले भोजपुरी फिल्मतिर लागेकी हुँ ।

तपाइँको प्राथमिकता भोजपुरी फिल्म नै हो ?
होइन । नेपाली फिल्म पनि गर्छु र भोजपुरी पनि गर्छु । नेपाली म्युजिक भिडियो पनि गर्छु । यही नै भन्ने छैन ।

तपाइँलाई ‘बोल्ड भोजपुरी अभिनेत्री’ भन्छन् । स्वीकार्नुहुन्छ ?
म बोल्डभन्दा पनि ‘सेक्सी हट’ छु । त्यसो त बोल्ड पनि छु । हेर्नुस् त अहिले पनि बोल्ड देखिरहेकी छैन र ?

‘बोल्डनेस’कै कुरा गर्दा फिल्ममा कतिसम्म एक्सपोज दिन सक्नुहुन्छ ?
हल्का गर्छु । विकिनीमा कुर्था लगाउनु भएन । मेरो लागि विकिनी एक्सपोज नर्मल हो । तर, अहिलेसम्म भिडियोहरुमा मात्र विकिनी शट दिएकी छु । फिल्ममा त्यो मौका मिलेको छैन ।

तपाइँको ‘विकिनी फोटोसुट’ केका लागि हो ?
विज्ञापनहरुका लागि हो । विभिन्न विज्ञापनका लागि विकिनीमा फोटोसुट गरिरहेकी हु्न्छु । ती फोटोहरु मिडियाले चर्चामा ल्याइरहेको हुन्छ ।

भारतीय मिडियासँग कसरी नजिक हुनुभयो ?
मलाई थाहा छैन । तर, भारतको आजतक, एविपी न्युज, टाइम्स अफ इण्डिया जस्ता ठूलो मिडियाहरुले मलाई स्पेश दिनु भनेको ठूलो कुरा हो । भोजपुरी फिल्महरु गरेकाले होला । अनि मेरो तस्बिरहरुमा सेक्सीनेश देखेर पनि हो ।

बलिउड इन्ट्री गर्ने तपाइँको उद्देश्य हो ?
होइन, मेरो यति ठूलो लक्ष्य र उद्देश्य छैन । अहिले जे छु त्यही नै हो ।

भारतीय मिडियाले चर्चा गरिरहँदा त्यहाँका निर्माता/निर्देशकबाट फिल्मको अफर गरेका छैनन् ?
बलिउड निर्माता निर्देशकबाट चाहिँ अफर आएको छैन । अफरै आएपनिे फेक हो जस्तो लाग्छ । भोजपुरीबाट चाहिँ आइरहेको हुन्छ ।

भिडियोमा ‘क्याटगोरी’ च्वाइज गर्नुहुन्छ कि हुन्न ?
च्वाइज गर्दिन । नेपाली आधुनिक पनि गर्छु । लोकगीत पनि गर्छु । भोजपुरी पनि गर्छु । अति मोर्डन आइटम र बाल्डनेश पनि गछुर्् । यही गर्छु भन्ने छैन ।

मुम्बई गएर संघर्ष गर्ने उद्देश्य छैन ?
मुम्बई एकपटक गएकी पनि थिएँ । त्यो बेला भोजपुरी फिल्मको डबिङका लागि गएकी हुँ । नेपाल नै छाडेर मुम्बई गएर संघर्ष गर्ने मेरो कुनै इच्छा छैन ।

भाजपुरी फिल्मका अभिनेत्रीहरु स्क्याण्डलमा आइरहेका हुन्छन् । तपाइँचाहिँ किन सेक्रेट ?
म स्क्याण्डल गर्दै हिँड्ने खालको मान्छे होइन । म जे छु त्यही नै हो । म खुला किताब हुँ ।

प्रेम प्रस्ताव कतिको आउँछ ?
प्रेम प्रस्ताव कति आउँछ-आउँछ । तर, स्वीकारेकी छैन । उमेर पनि पुगेको हो । तर, मनले मान्दैन । इच्छाएको नभेटेर पनि होला । फेरि यसो भन्दाभन्दै बुढी भइएला भन्ने डर पनि छ । प्रेम र विवाहका लागि समय नै आउनुपर्ने रहेछ ।

प्रतिक्रिया दिनुहोस्