
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी तटस्थ रहँदै आएका कारण सुदूरपश्चिम प्रदेशसभाले लगातार प्रयास गर्दा पनि सभामुख पाउन सकेको छैन ।
शनिबार पनि सभामुख चयनका लागि भएको मतदानमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवार दुबैले ५१ प्रतिशत मत पाउन नसक्दा प्रदेशसभाले सभामुख पाउन सकेन ।
नागरिक उन्मुक्तिका ७ सांसद तटस्थ रहेपछि सभामुखका उम्मेदवार माओवादीका भीमबहादुर भण्डारी र कांग्रेसका उम्मेदवार मानबहादुर रावल निर्वाचित हुन नसकेका हुन् ।
सत्ता गठबन्धनको उम्मेदवार भण्डारीलाई सभामुख चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा २२ र कांग्रेसका सभामुखका उम्मेदवार मानबहादुर रावलले पनि २२ मत पाएका थिए । ५३ सदस्यीय प्रदेशसभामा सभामुख निर्वाचित हुन आवश्यक ५१ प्रतिशत अर्थात कम्तीमा २७ मत आवश्यक हुन्छ ।
बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत पाए भने कांग्रेसका रावलले २३ मत पाएका थिए ।
सुदूरपश्चिममा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीको ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।
नागरिक उन्मुक्तिले सुदूरमा मुख्यमन्त्री मागेको थियो । तर, सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा एमालेले मुख्यमन्त्री पाएपछि नागरिक उन्मुक्ति असन्तुष्ट छ । त्यसैले सभामुखको निर्वाचनमा तटस्थ रहँदै आएको छ ।











