काठमाडौं । सातौँ संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।
आज महिला तथा पुरुष दुवैतर्फको फाइनल खेल हुने भएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा महिलातर्फको फाइनल खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको खेल १२ बजे सुरु हुनेछ । त्यस्तै पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो २ बजे सुरु हुनेछ । महिलातर्फको तेस्रो स्थानका लागि बिहान १० बजे एपीएफ क्लब र आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ तेस्रो स्थानका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।











