Logo
Logo
कला

‘संगीतकारहरूको ढोका कहिल्यै ढक्ढक्याइनँ’



यहाँसम्म आइपुग्दा गायिका रीता केसीले संगीतमै १४ वर्ष विताइसकिन् । गीत संगीतलाई नै अध्ययन र पेसा बनाउँदै आएकी रीता भन्छिन्, ‘संगीत मेरो कर्म र जीवन हो ।’ सानैदेखि गाउन थालेकी दाङ, देउखुरीकी रीताले ललितकला क्याम्पसबाट संगीतमा स्नातकोत्तर गरेकी छिन् । संगीतमै पीएचडी गर्ने तयारीमा रहेकी रीताले हालसम्म ३५० बढी गीतमा स्वर दिइसकेकी छन् ।

नेपाली सांगीतिक क्षेत्रमा ‘भर्सटायल गायिका’का रुपमा चिनिएकी रीता भन्छिन्, ‘फिल्मी गीत गाएर गायनमा करिअर सुरु गरेँ । तर, अहिले सबै प्रकारका गीत गाउँछु ।’ थारु, मैथिली, भोजुपुरीलगायत विभिन्न भाषाभाषीका गीतसमेत गाउँदै आएकी रीता भन्छिन्, ‘श्रोता÷दर्शकको अटुट माया र हौसलाले यहाँसम्म पुगेकी हुँ । मेरो संगीतयात्रा यसरी नै अटुट रहने छ ।’ यिनै संगीत साधक एवं ‘भर्सटायल गायिका’ रीता केसीसँग एमपी सुब्बाको जम्काभेट :

आजभोलि कतिको व्यस्त हुनुहुन्छ ?
भर्खरै पढाइ सकियो । अहिले रेकर्डिङ र कार्यक्रमहरूमै व्यस्त छु ।

मेला महोत्सवको सिजन छ, अहिले त गायक÷गायिकाका लागि व्यस्त समय होइन त ?
महोत्सवहरूमा पनि पर्फमेन्स गर्दै आएकी छु । अहिले त विभिन्न जिल्ला र ठाउँहरूमा महोत्सव भइरहेका छन् । मलाई पनि महोत्सवहरूबाट निम्तो आइरहेको छ ।

तपाइँले गाउन थाल्नुभएको कति भयो ?
सानैदेखि गाउँथेँ । तर, व्यवसायिक रुपमा गाउन थालेकोचाहिँ ठ्याक्कै १४ वर्ष पुग्यो । २०६५÷०६६ सालदेखि गाउन सुरु गरेकी हुँ ।

दाङबाटैै गाउन सुरु गर्नु भएको हो ?
दाङमा हुँदै गाउँथेँ । तर, त्योबेला सानैथिएँ । मेला–महोत्सव र स्कुलमा अरुका गीतहरू गाउँथेँ । मैले कक्षा ८ सम्म दाङमा पढेकी हुँ । ९ कक्षादेखि चाहिँ काठमाडौंमा पढेकी हुँ ।

त्योे बेला काठमाडौैं केका लागि आउनुभएको थियो ?
गीतसंगीतमा रुची भएकाले पढ्न र संगीतको वातावरण बुझौँ भनेर २०६१ सालमा दिदीसँग काठमाडौं आएकी थिएँ । मैले दिदीसँग बसेर नै पढेकी हुँ । एसएलसीपछि संगीत विषयमा भोटाहिटीस्थित ललितकला क्याम्पस पढ्न थालेँ । त्यहीँबाट संगीतमा भर्खरै स्नातकोत्तर गरेँ ।

पहिलोपटक गीत रेकर्डिङ गर्ने अवसर कसरी पाउनुभयो ?
मैले पहिलोपटक नै फिल्मी गीत गाएकी हुँ । ‘जोखिम’ फिल्मको गीतबाट मेरो अरिअर सुरु भयो । त्यो बेला ललितकलामै पढ्थेँ । उक्त फिल्मका संगीतकार बसन्त सापकोटा राम्रो गाउने मान्छे खोज्दै क्याम्पसमा आउनुभएको थियो । साथीहरूले मलाई देखाएपछि गाउने अवसर पाएकी हुँ ।

त्यो बेला आफ्नो सोला एल्बम निकाल्नु भएन ?
‘मन’ नामक एल्बम निकालेकी थिएँ । त्यो बेला चक्काको समय गइसकेको थियो । त्यतिखेर सिडी र सिआरबिटी र पिआरबिटीको जमाना थियो । मेरो ‘मन’ एल्बमका गीतहरू सिआरबिटीमा राम्रो गएको थियो । मेरो संगीत यात्राचाहिँ चक्काको जमानादेखि नै हो ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
फिल्म, आधुनिक, लोक र विभिन्न भाषाभाषी गरी ३५० भन्दा बढी पुग्यो । मैले नेपाली फिल्मका गीतमात्र एक सयभन्दा बढी गाएकी छु । त्यसबाहेक आधुनिक, लोक र भाषाभाषीका गीत पनि गाएको छु ।

संगीत क्षेत्रमा तपाईँलाई चिनाउने गीत कुन हो ?
मैले गाएका प्रायः सबै गीत रुचाइएको छ किनकि, त्यो समयमा अहिले जस्तो धेरै गायक/गायिका थिएनन् । ‘भन के के गर्नुपर्छ’ बोलको गीतबाट मैले राप्ती अवार्डमा सर्वोत्कृष्ट गायिकाको अवार्ड पनि पाएँ ।

सुरुका दिनमा संघर्ष गर्न कतिको कठिन भयो ?
संघर्ष भन्ने आफ्नै ठाउँमा छ । नयाँ हुँदा मान्छे चिन्नै समय लाग्यो । तर, म मिहिनेतमा विश्वास गर्थेँ । सुरुका दिनमा ढोका थुनेर सात घण्टासम्म संगीतको रियाज गर्थेँ । आफ्नै मिहिनेतमा विश्वास गर्ने हुँदा मलाई गाउन दिनु भनेरचाहिँ कसैसँग आग्रह गरिनँ । न त संगीतकारहरूको ढोका नै ढक्ढक्याउन गएँ । अहिले पनि मेरो नेचर त्यही छ ।

तपाईँले सोचेजस्तो संगीतबाट खुसी पाउनुभएको छ कि छैन ?
खुसी पाएकी छु । १४ वर्षदेखि अनवरत संगीतमा छु । त्यसयता विचलित हुनु परेको छैन । दर्शक तथा श्रोताको सदावहार माया र हौसला पाइरहेकी छु । म पनि सदावहार रुपमै अगाडि बढ्न चाहन्छु ।

१४ वर्षअघिको संगीत क्षेत्र र अहिले के फरक छ ?
धेरै फरक छ । अहिले समय डिजिटल भइसक्यो । मैले संगीत अँगाल्दा घुम्ने चक्काको जमाना थियो । त्यसपछि सिडी र सिआरबिटीको जमाना आयो । अहिले युट्युबको ट्रेण्ड छ । जसले कलाकारले आफ्नो सिर्जना विश्वव्यापी बनाउने अवसर पाएका छन् । यससँगै देश–विदेशमा कार्यक्रम गर्ने अवसर मिलेको छ । अहिले कलाकारका लागि चर्चामा आउने सजिलो भएको छ ।

अहिलेसम्म विदेशयात्रा कहाँ कहाँ गर्नुभयो ?
एक दर्जनभन्दा बढी देशमा कार्यक्रम गरेकी छु । युरोपका विभिन्न मुलुकका अलावा जापान, कतार, दुवई, मलेसिया, बहराइन, बंगलादेश, भारतलगायतका देशमा सांगीतिक प्रस्तुती पस्केकी छु ।

आफ्ना केही चर्चित गीतहरू भन्नुपर्दा ?
मैले गाएका फिल्मी गीतहरू प्रायः दर्शकले रुचाएका छन् । यद्यपि, ‘अन्तराल’ एल्बमको ‘भन के के गर्नुपर्छ’ र ‘जाउला कान्छी जलजला’, ‘मुटु चुँढिन्छ’ लगायतका मेरो गीतहरू अहिले पनि चर्चित छन् ।

अन्त्यमा, अरु केही भन्नु छ ?
एउटा नयाँ एल्बम आउँदैछ । एकजना गीतकार दाईको एल्बममा मैले स्वर दिएकी छु । जुन एल्बमका पाँच वटा गीत रेकर्ड भइसकेको छ । यसमा पनि दर्शक÷श्रोताको अपार माया पाउने विश्वास लिएकी छु ।

प्रतिक्रिया दिनुहोस्