Logo
Logo

तीन वर्षपछि बालीमा चिनियाँ पर्यटकको आगमन



एजेन्सी । कोरोना महामारीका कारण चीनले आफ्ना नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै आमोदप्रमोदका निम्ति इन्डोनेसियाको  प्रख्यात बाली टापुमा दुई सय ५० चिनियाँ पर्यटक बोकेको विमान अवतरण गरेको छ । तीन वर्षको अन्तरालमा चिनियाँ पर्यटक बाली आएका हुन् । 

चीनको ग्वाङडोङ प्रान्तको सेञ्जेनबाट इन्डोनेसियाका लायन एयरले चार्टर गरेको विमानबाट बाली आएका चिनियाँ पर्यटकले कोभिड-१९ नियन्त्रणका खातिर जारी गरिएको निषेधाज्ञा हटाएर पुनः अन्तर्राष्ट्रिय यात्राको अनुमति प्राप्त भएकामा आफूहरू हर्षित भएको बताए । चिनियाँ पर्यटक एन पेइले लामो समयपछि यात्रा गर्न पाएकामा आफूलाई आनन्दानुभूति भएको बताइन् । नयाँ वर्षलाई दृष्टिगन गरी चीन सरकारले गत पुस ८ गते यात्रा प्रतिबन्ध हटाएको थियो । गत आइतबार चीनभर नयाँ वर्ष मनाइएको थियो । 

लायन एयरले प्रारम्भिक चरणमा सेञ्जेन- बाली उडान सातामा एकपटक गर्ने बताएको छ । इन्डोनेसियाले यो वर्ष चीनबाट दुई लाख ५५ हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । गत वर्षका प्रथम १० महिनामा ९४ हजार नौ सय २४ जना चिनियाँ पर्यटकले इन्डोनेसिया भ्रमण गरेका थिए । महामारी प्रारम्भ हुनुअघि २० लाखभन्दा बढी चिनियाँ पर्यटकले वर्सेनि इण्डोनेशिया भ्रमण गर्दै आएका थिए । चिनियाँ पर्यटकको आगमनसँगै यो वर्ष देशको समग्र पर्यटक आगमनको लक्ष्यमा योगदान पुग्ने विश्वास इन्डोनेसियाली पर्यटन मन्त्रालयले गरेको छ । 

सन् २०२३ मा  इन्डोनेसियाले ३५ लाखदेखि ७४ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरेको छ । इन्डोनेसियाको पर्यटनका  निम्ति चीन सबैभन्दा ठूलो बजार हो । इन्डोनेसिया सरकारले अधिकभन्दा अधिक चिनियाँ पर्यटकलाई आकर्षित गर्न बेइजिङ, साङ्घाई, ग्वाञ्जाओजस्ता प्रमुख शहरमा सिधा उडान सञ्चालन गर्ने सम्भावनाको खोजी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्