Logo
Logo

नेपाल बाल संगठनको अर्बौ भ्रष्टाचारमा अख्तियारकै साथ



काठमाडौं । अनाथ तथा असहाय बालबालिकाको हितमा काम गर्न स्थापना भएको संस्था ‘नेपाल बाल संगठन’को खुलेआम भ्रष्टाचारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि साथ दिएको छ ।

उच्चस्तरीय छानबिन आयोगले संगठनमा भ्रष्टाचार भएको भनेर प्रमाणसहित प्रतिवेदन दिदा पनि अख्तियारले अभियोजन रोकेर अनियमिततामा साथ दिएको स्रोतले बताएको छ । जसकारण संगठनको अवस्था झन् बिग्रदै गएको छ ।

संगठनको जग्गा तथा अन्य सम्पत्तिमा वर्षाैदेखि अनियमितता हुँदै आएको छ । नक्सालस्थित संगठनको २८ रोपनी जग्गा कौडीको भाउमा व्यापारीले प्रयोग गर्दै आएका छन् । बिना प्रतिस्पर्धा पटक–पटक निर्णय गरेर बृहस्पति विद्यासदनलाई सो जग्गा लिजमा दिँदै आइएको छ । सो जग्गा हाल विद्यालय मात्र नभई व्यापारिक प्रयोजनका लागि समेत प्रयोग भइरहेको छ ।

अख्तियारले तीन वर्षदेखि बाल संगठनको जग्गा लिजमा दिँदा भएको अनियमितताको छानबिन गरिरहेको छ । विनाप्रतिस्पर्धा संगठनको २८ रोपनी पाँच आना जग्गा वृहस्पति विद्यासदन स्कुलले लिजमा लिएकोमा सम्झौता अवधि नसकिँदै विनाप्रतिस्पर्धा थप ३८ वर्षका लागि नवीकरण गरिएको थियो ।

सो विषयमा संगठनका पूर्वपदाधिकारीसँग आयोगले बयानसमेत लिइसकेको छ । तर, दबाब र चलखेलका कारण फाइल त्यतीकै रोकेर राखिएको आयोग स्रोत बताउँछ ।

उच्च अदालतका पूर्वन्यायाधीश हरि भट्टराई नेतृत्वको छानबिन आयोगले त्यसरी जग्गा लिजमा दिँदा अनियमितता भएको औँल्याएको थियो । संगठनका पूर्वअध्यक्ष रिता सिंह, पूर्वमहासचिवहरू कृष्णशंकर शाह, सुवासकुमार पोखरेल, पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ, पूर्वकोषाध्यक्ष दीपकदास श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य सुमन शाक्य, पूर्वनिर्देशक राजेश्वर निरौला, बालकृष्ण डंगोल, रमेश भोमी, पूर्वशाखा प्रमुख टिकमणि न्यौपाने र प्रमिला श्रेष्ठलाई कारबाहीको सिफारिस गरेको थियो । उनीहरुकै चलखेलका कारण आयोगले यति ठूलो भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गर्ने आँट नगरेको हो ।

नक्सालस्थित संगठनको केन्द्रीय कार्यालय परिसरमा रहेको जग्गा वृहस्पति स्कुलले ०५८ देखि लिजमा लिँदै आएको छ । लिजको सम्झौतामा बजार मूल्यभन्दा सस्तोमा भएको र सम्झौताअनुसार स्कुलले बाल संगठनको भवन बनाउनेलगायतका काम पनि भएको छानबिनमा उल्लेख थियो ।

०५८ सालमा २५ वर्षका लागि लिजमा दिने सम्झौता भएकोमा लिज अवधि समाप्त नै नभई थप ३८ वर्षका लागि दिने अर्काे सम्झौता भएको थियो । वृहस्पतिले सोही जग्गामा भवन बनाएर हाल राय स्कुलसमेत सञ्चालन गर्दै आएको छ । त्यहाँ अन्य व्यापारिक गतिविधि समेत हुँदै आएको स्रोत बताउँछ । तर, अनाथ बालबालिका बस्ने र पढ्ने ठाउँ भने बेहाल भनेको छ ।

अहिले संगठन एमालेको भर्तीकेन्द्र बनेको छ । उनीहरुले पनि संगठनको स्रोत साधन दुरुपयोग नै गरिरहेका छन् ।

अनाथको संस्थामा अनियमितताको चाङ
देशभरी संरचना भएको बाल संगठनमा भौतिक सम्पत्तिको चरम दुरुपयोग हुँदै आएको छ । राजनीतिक भर्ती केन्द्र बनेको आयोगमा पदाधिकारीबाटै अनियमितता भएको हो ।

आयोग प्रतिवेदनअनुसार संगठनले वृहस्पति विद्यासदन मात्र होइन तरुण निर्माण सेवा, कनक ट्रेडर्स, फेयर इन्टरनेसनल र मनोजकुमार मिश्रलाई अनधिकृत रूपमा करोडौँ मूल्यबराबरको सम्पत्ति कौडीको भाउमा लिजमा दिएको छ । ती सबै लिजमा अनियमितता भएको छ ।

छानबिन आयोगको प्रतिवेदनमा वृहस्पति विद्या सदनसँग नेपाल बाल संगठनलाई दीर्घकालीन हानि पुग्ने गरी सम्झौता गरिएको, तरुण निर्माण सेवालाई विवादित जग्गा भाडा दिने सम्झौता भएको, मनोजकुमार मिश्रसँग प्रक्रिया पूरा नगरी जग्गा भाडामा दिने सम्झौता गरिएको र कनक ट्रेडर सेन्टर र फेयर इन्टरनेसनललाई पनि प्रक्रिया पूरा नगरी जग्गा भाडामा दिइएको किटानसहित उल्लेख छ ।

नक्सालस्थित बाल संगठनको जग्गा नेपाल सरकारबाट उसलाई प्राप्त भएको हो । कानुनअनुसार सरकारी जग्गा लिजमा दिँदा वा बिक्री गर्दा सरकारको सम्बन्धित निकायसँग स्वीकृत लिनुपर्छ । तर, यसमा स्वीकृति लिइएको छैन । यति ठूलो परिमाणको जग्गा व्यापारिक प्रयोजनमा भाडा लिँदा बोलपत्र आह्वानसमेत नगरी मिलेमतो भएको प्रष्ट छ । तर, पनि अख्तियारले मुद्दा दायरको आँट गर्न सकेको छैन । किनकि, बहृस्पतिका सञ्चालकहरुको अख्तियारका पदाधिकारीसँग निकटस्थ सम्बन्ध छ ।

वृहस्पति बिद्यासदनलाई संगठनको केन्द्रीय कार्यालयस्थित २९ रोपनी जग्गा आगामी ५४ वर्षसम्मका लागि लिजमा दिने सम्झौता गर्दा ठूलो भ्रष्टाचार भएको हो । यसबापत वार्षिक एक करोड रुपैयाँ भाडा दिने सम्झौता छ । भाडा प्रत्येक दुई वर्षमा पाँच प्रतिशतका दरले बढ्ने भनिएको छ । तर, सम्झौता भएको आठ वर्षसम्म भने बढेको भाडा संगठनले लिन पाउँदैन । जग्गालाई वृहस्पतिले बैंक अफ काठमाडौंमा धितो राखेर ३० करोड रुपैयाँ ऋण लिएको छ ।

जग्गाको धितो मूल्यांकन मात्रै ३८ करोड १८ लाख रुपैयाँ छ । सम्झौता अवधिभर वृहस्पतिले जग्गामा ५२ करोड रुपैयाँ मूल्यबराबरको सम्पत्ति जोड्न सक्ने भनिएको छ । जग्गा र जग्गामा बनेको भवनलाई वृहस्पतिले तेस्रो व्यक्तिलाई लिजमा पनि लगाउन सक्नेछ । यसबापत वृहस्पतिले संगठनलाई भने ६ महिनाभित्र दुईकोठे भवन बनाइदिने भनिएको छ । तर, उक्त भवन अहिलेसम्म बन्न सकेको छैन । बरु सो जग्गा राय स्कुललाई लिजमा दिएर उसले प्रशस्त आम्दानी गरिरहेको छ ।

संगठनका अध्यक्ष रिता सिंह, महासचिव गणेशभक्त श्रेष्ठ, पूर्वमहासचिवहरू कृष्णशंकर शाह, सुवासकुमार पोखरेल, पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ, पूर्वकोषाध्यक्ष दीपकदास श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य सुमन शाक्यको कार्यकालमा धेरै भ्रष्टाचार भएको हो ।

त्यस्तै संगठनका पूर्वनिर्देशक राजेश्वर निरौला, बालकृष्ण डंगोल, रमेश भोमी, पूर्व शाखा प्रमुख टिकमणि न्यौपाने र प्रमिला श्रेष्ठ पनि यो भ्रष्टाचारमा दोषी रहेको औंल्याइएको छ । रिता स्वर्गिय नेता गणेशमान सिंहकी छोरी हुन् । उनले बुबाको नाम समेत बदनाम गराएकी छिन् ।

संगठनको मुलुकभर ६८ जिल्ला कार्यसमिति छन् । कतिपय जिल्लामा भौतिक संरचना पनि बनेका छन् । तर, अनाथ बालबालिकाका लागि नभई आम्दानीका लागि प्रयोग हुँदै आएको छ । जिल्लामा पनि भाडा तथा लिजमा दिँदा केन्द्रमा जस्तै अनियमितता भएको छ ।

टेकुमा पनि भ्रष्टाचार
टेकुको जग्गा लिजमा दिँदा पनि भ्रष्टाचार भएको छ । टेकुस्थित करिब एक रोपनी ११ आना जग्गा कनक ट्रेड सेन्टर (पेट्रोल पम्प)लाई आगामी २५ वर्षका लागि अर्थात् वि.सं. २१०२ सम्मका लागि लिजमा दिइएको छ । कनकले वार्षिक चार लाख ८७ हजार रुपैयाँ भाडा बुझाउन लिज सम्झौतामा उल्लेख छ ।

कनक टे«डर्सका मालिक पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे हुन् । जो निकै विवादास्पद पात्र हुन् । सो पेट्रोल पम्प पनि मिसावट र ठगीका कारण बदनाम छ ।

जग्गा भाडामा दिएबापत हुने आम्दानीमा पनि अनियमितता हुँदै आएको छ । संगठनको जग्गा कनकले ०६६देखि प्रयोग गर्दै आएको छ ।

टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालयको उत्तरतर्फ मुख्य सडकमा जोडिएको संगठनकै नाममा अर्को एक रोपनी ११ आनामा जग्गा छ । जग्गामा १८ वटा सटर भाडामा चलिरहेका छन् ।

सटर नरेन्द्रलाल प्रधान अध्यक्ष रहेको व्यापारिक संस्था फेयर इन्टरनेसनलको हो । फेयरको मुख्य सेयरहोल्डर संगठनका पूर्व महासचिव गणेशक्त श्रेष्ठ आफैँ हुन् पछि उनले सेयर श्रीमतीको नाममा नामसारी गरेका थिए । आफु महासचिव भएकै बेला सो जग्गा लिजमा दिएका थिए । जसवापत संगठनले वार्षिक १८ लाख ६ हजार रुपैयाँ उठाइरहेको छ । सो कम्पनीले भने त्यसभन्दा दोब्बर आम्दानी गर्दै आएको छ ।

नक्सालकै १३ रोपनी जग्गा व्यापारिक भवनका लागि लिजमा दिदा पनि अनियमितता भएको छ । तरुण दलका तत्कालीन नेता मनोजकुमार मिश्रलाई तरुण निर्माण सेवालाई जग्गा लिजमा दिइएको छ । तर, काम सुरु हुन सकेको छैन ।

छानबिन आयोगको प्रतिवेदनअनुसार सापटी रकममा समेत अनियमितता भएको छ । प्रतिवेदनअनुसार संगठनका पदाधिकारी र कर्मचारीले संगठनबाट लिएको लाखौं फिर्ता गरेका छैनन् । जसमध्ये सबैभन्दा धेरै रकम तत्कालिन अध्यक्ष रीता सिंहसँग असुल गर्नुपर्ने छ ।

उनले संगठनको ७५ लाख रुपैयाँ लगेकी छिन् । व्यापारिक डिल गर्दा ठेकदारसँग लिइएको एडभान्स आफैंले राखेकी हुन् । अनाथका नाममा भएको यस्तो घिनलाग्दो हर्कतलाई अख्तियारले समेत चोख्याएपछि भ्रष्टाचार गर्नेहरुको मनोबल बढेको छ ।

अख्तियारबाटै अख्तियार दुरुपयोग

सार्वजनिक निकायमा हुने अनियमितताको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै अख्तियारको दुरुपयोग भएको छ । बाल संगठनको जग्गामा ग्यारेज बनाएर आयोगले प्रयोग गर्दै छ । सोही कारण पनि आयोगको छानबिन प्रभावित बनेको छ ।

नक्सालस्थित संगठनको केन्द्रीय कार्यालय परिसरको करिब पाँच रोपनी जग्गा ६ वर्षदेखि आयोगले प्रयोग गर्दै आएको छ । जग्गामा टहरा बनाएर आयोगले आफ्नो ग्यारेज र पार्किङ बनाएको हो । सो जग्गा खाली गर्न पटकपटक संगठनले आयोगलाई पत्राचार गर्दै आएको छ । आयोगले दुई वर्षका लागि जग्गा प्रयोग गर्न दिए पनि ६ वर्ष हुँदा पनि प्रयोग गरिरहेको छ । संगठनको दबाबपछि उसले केही ठाउँ भनेको छाडेको छ ।

संगठनको तत्कालीन पदाधिकारीले दुई वर्षका लागि सो जग्गा प्रयोग गर्न दिएका थिए । त्यसबापत आयोगले संगठनलाई एउटा पुरानो गाडी सहयोग गरेको थियो जुन गाडी केही महिनामै बिग्रिएको थियो । दुई वर्षको सम्झौता सकिएपछि पनि आयोगले जग्गा खाली गरेको छैन । आयोग परिसरभित्र पार्किङ पर्याप्त नभएकाले नजिकै रहेको संगठनको जग्गा प्रयोग गरेको हो । तर, यसले आयोग विवादमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्