Logo
Logo

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो, किसान चिन्तित



काठमाडौं । याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो ।

किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गरेका थिए ।

केही दिन अघि हेर्दा छ/सात क्यारेट जति सुन्तला कुहिएको उनले बताए । अब उनी चाँडै सुन्तला बिक्री गर्ने तयारीमा छन् । अहिले बोटबाटै प्रतिकिलो ८५ देखि ९० सम्ममा बिक्री भइरहेको छ । ‘कुहिन थालेपछि शीतभण्डारमा राखिएको सुन्तला प्रतिकिलो रु ५० देखि रु ६० सम्ममा बिक्री गर्नुपर्ने बाध्यता छ’, उनले भने ।

पुतलीबजार करेन्डाँडाका कृष्णजङ्ग केसीले भण्डारण गर्दाको बेला आठ लाख मूल्य पर्ने दुईसय ६६ क्यारेट सुन्तला भण्डारण गरे । सुन्तला कुहिएको पाएपछि उनले सस्तैमा सुन्तला बिक्री गर्न थालेका छन् । ‘मूल्य बढी पाइने आहले भण्डारण गरे, उल्टै घाटा लाग्ने अवस्था आयो’, केसीले भने । उनले भण्डारण गरेको सुन्तलाका क्यारेटबाट कुहिएका निकालेर राम्रा सुन्तला प्रतिकिलो ६५ का दरले बिक्री गरे ।

बर्सेनि एक लाख ५० हजारसम्मको सुन्तला बिक्री गरेर त्यसकै भरमा घरखर्च चलाउने किसान बढी मर्कामा परेको उनी बताउँछन् । यसको सही व्यवस्थापन हुन नसकेमा आगामी दिनमा किसानले यहाँ सुन्तला, आलुलगायतका कृषिउपज भण्डारण नगर्ने र राज्यको ठूलो लगानी खेर जानसक्ने भएकाले सम्बन्धित निकायले बेलैमा चासो दिनुपर्ने उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्