Logo
Logo

मिक्लाजुङमा अब वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता



उर्लाबारी । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ ।

मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताए । साविक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो । यसअघि स्थानीयवासीले सामाजिक सुरक्षा भत्ता लिन मधुमल्ला झर्नुपर्ने बाध्यता रहेको थियो ।

पहाडी भेगका कोलबोटे, खोलागाउँ, बतासेलगायतका नागरिकले भत्ता लिनका लागि दुई घण्टाको पैदलयात्रा र बसको यात्रापछि मधुमल्ला पुगिन्थ्यो । ‘दिनभरि बंैकमा भत्ता लिन लाइनमा बसेर घर फर्किँदा झमक्कै साँझ पर्ने अवस्था थियो’, पाँच वर्ष भत्ता लिन सास्ती खेपेका बतासे गाउँका नरेन्द्र रसाइली भन्छन्, ‘अब मधुमल्ला धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।’

वडामै भत्ता वितरण गर्न पाउँदा निर्वाचनताका स्थानीयसँग गरेको एउटा वाचा पूरा भएको वडाध्यक्ष पर्वत राईले बताए । भत्ता वितरण गर्दै आएको एनएमबी बैंक मधुमल्ला शाखासँग समन्वय गरी वडाबाटै वितरण गर्ने प्रबन्ध मिलाइएको उनले बताए । वडा नं २, ३, ४, ५ र ६ मा पनि वडाबाटै भत्ता वितरणको योजना गाउँपालिकाको छ ।

प्रतिक्रिया दिनुहोस्