
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीले बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, प्रदेश सरकारलाई पूर्णता दिने लगायत समसामयीक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपतिको कार्यकाल फागुन २८ गते सकिँदैछ ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिको निर्वाचन एक महिनाअघि गरिसक्नुपर्ने हुन्छ । माघ महिनामै राष्ट्रपति निर्वाचन हुने तयारी भइरहेका बेला अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँगको छलफललाई तीव्र बनाएका हुन् ।
पुस १० गते बनेको सत्ता गठबन्धनको सहमतिअनुसार राष्ट्रपति पद एमालेले लिने सहमति भएको छ। तर पुस २६ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि प्रचण्ड अलमलमा छन्।
उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुने विश्वास व्यक्त गर्दै आइरहेका छन् । तर कांग्रेसले पनि आँखा लगाएपछि राष्ट्रपति उसैले फुत्काउने हो कि भन्ने त्रासमा ओली छन् ।
कांग्रेसले यसअघि नै राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । उसले वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विकमध्ये एकलाई उठाउने सम्भावना छ ।
एमालेले अहिलेसम्म राष्ट्रपतिको उम्मेदवारबारे कुनै निर्णय गर्न सकेको छैन । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष सुवास नेम्वाङ र उपमहासचिव पृथ्वीसुब्बा गुरुङसहितको नाम चर्चामा छ ।














