Logo
Logo

कम्युनिष्टहरुमा स्वच्छ छवि, अनुशासन नै प्रमुख कुरा हो


- पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रम तथा अध्यक्ष, (नेकपा)


– पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रम तथा अध्यक्ष, (नेकपा)

नेपाल र चीनबीच सदियौँदेखि जनस्तरको सम्बन्ध छ । अभिलेखित इतिहासअनुसार चिनियाँ महान् बौद्ध भिक्षु फाँसियानको लुम्बिनी यात्रा, नेपालका बौद्ध विद्वान बुद्धभद्रको चीन यात्रा, चिनियाँ बौद्ध विद्वान वेन साङ्को लुम्बिनी यात्रा र नेपाली राजकुमारी भृकुटीको तिब्बती राजासँगको विवाहजस्ता पाँचौँ शताब्दीको सुरुदेखि सातौँ शताब्दीभित्रका घटनाले १६०० वर्षअघिको हाम्रो सांस्कृतिक सम्बन्धको गहिराइ आँकलन गर्न सकिन्छ । १३औँ शताब्दीमा नेपाली कलाकार अरनिकोको नेतृत्वको टोलीले बनाएको बेइजिङ शहरको मध्यभागमा रहेको विशाल श्वेत चैत्य र उथाइसानको श्वेत चैत्य हाम्रा ऐतिहासिक सम्वन्धका शिखर नमुना हुन् । त्यही ऐतिहासिक विरासतमा उभिएर सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएपछि नेपाल र चीनबीच आधुनिक सम्बन्ध निरन्तर विकास हुँदै आएको छ । एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, सार्वभौम समानता, समझदारी, मित्रता र असल छिमेकीपन हाम्रा सम्बन्धका आधारभूत मान्यता हुन् ।

 

 

बढो सोचीविचारी बीआरआईसम्बन्धी साझा समझदारी–पत्रमा मेरै प्रधानमन्त्रीत्वकालमा हस्ताक्षर गरेका हौँ ।

राजनैतिक रूपमा चिनियाँ कम्युनिष्ट पार्टीले सत्तामा बसिरहने वैधता (लेजिटिमेसी) जनताको अपेक्षा पूरा गरेको (डेलिभरी) आधारमा प्राप्त हुन्छ भन्ने मान्यता राख्छन् । कम्युनिष्टहरूमा अनुशासन भएन भने कुनै पनि रूपान्तरणको नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन ।

समाजवादमा कम्युनिष्टले जनताको सेवा गरेर उनीहरूको मन जितेर मात्र शासनको बैधता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । तर, शासनमा बस्नेहरू बिस्तारै अनुशासनमा नबस्ने र जनताको सेवा गर्न भन्दा धनीमानीको पक्षमा वा सुखसुविधामा लागेमा कम्युनिष्टको शासन गर्ने वैधता समाप्त हुन्छ ।

बीआरआईमा मेरै पालामा हस्ताक्षर

नेपालले शब्दमा मात्र होइन व्यवहारमै एक चीन नीतिलाई दृढतापूर्वक अवलम्वन गरेको छ र नेपाली भूमिमा चीन विरोधी गतिविधि नसहने नीति हाम्रो सम्बन्धको एक आधारभूत कडी हो । नेकपाको वैदेशिक नीतिमा हामीले यो विषय स्पष्ट ढंगले उल्लेख गरेका छौँ । नेपालको आर्थिक सामाजिक विकासमा चीनको सहयोग एकदमै महत्वपूर्ण छ । चिनियाँ सरकार र जनता चीनका महामहिम राष्ट्रपति सि जिन पिङले अगाडि सारेको बीआरआई (बेल्ट एन्ड रोड इनिसियटिभ) ले नेपालका लागि पुर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्यौगिकरण तथा सामाजिक विकासका लागि चाहिने पूँजी र प्रविधिमा पहुच बढाइदिन्छ । त्यसैले बढो सोचीविचारी बीआरआईसम्बन्धी साझा समझदारी–पत्रमा मेरै प्रधानमन्त्रीत्वकालमा हस्ताक्षर गरेका हौँ । हालका दिनमा बीआरआईको फ्रेमवर्कमा रहेर उच्चतहमा राजनैतिक समझदारी, आर्थिक क्रियाकलाप र सांस्कृतिक तथा जनस्तरको सम्बन्ध निरन्तर विकासित हुन गइरहेको छ । हालै नेपालका सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको ऐतिहासिक राजकीय भ्रमण, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तथा चीनका स्टेट काउन्सलर तथा परराष्ट्रमन्त्री वाङ यी को नेपाल भ्रमणले यो प्रक्रियालाई नयाँ उचाइतिर लगिरहेका छन् । यस पृष्ठभूमिमा सरकारले यथोचित तयारी गरी चीनको तर्फबाट ऐतिहासिक उच्चस्तरीय भ्रमण गराउने कुरामा हामी विश्वस्त छौँ ।

शान्ति र समृद्धिको अपेक्षा

कुनै पनि राजनैतिक प्रणाली जनताको जीवनस्तर उकास्ने एक साधन मात्र हो, साध्य होइन । राजनैतिक प्रणाली समाज विकासको विशिष्ट आवश्यकताको उपज हो । त्यसैले इतिहासका विभिन्न कालखण्डमा समाजको विशिष्ट आवश्यकताअनुसार राजनैतिक प्रणाली वा वादको जन्म र विकास भएको पाइन्छ । युरोपको औंद्योगिक क्रान्ति र पूँजीवादको तीव्र विकाससँगै श्रमको चरम दोहनको जगमा माक्र्सवादको जन्म भयो । माक्र्सवादकै आलोकमा जनवादी क्रान्ति सम्पन्न गरी चिनियाँ विशेषतासहितको समाजवाद निर्माणको मौलिक मार्गमार्फत आर्थिक विकासको नयाँ उचाइ हासिल गरेको चीनबाट मानवजातिले शान्ति, स्थिरता र समृद्धिको उचित अपेक्षा गरेको छ । चिनियाँ शैलीको समाजवादबारे अहिले विश्वव्यापी बहस चलिरहेको छ । राजनैतिक रूपमा चिनियाँ कम्युनिष्ट पार्टीले सत्तामा बसिरहने वैधता (लेजिटिमेसी) जनताको अपेक्षा पूरा गरेको (डेलिभरी) आधारमा प्राप्त हुन्छ भन्ने मान्यता राख्छन् । संसारको कुनै शासन प्रणालीले दिन नसकेको चिनियाँ जनताको आत्मसम्मान, गौरव र तीव्रतमगतिको आर्थिक विकास जनतालाई चिनियाँ कम्युनिष्ट पार्टीले दियो । ९ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरूको अनुशासनको पालना निक्कै उदाहरणीय रहेको छ । कम्युनिष्टहरूमा अनुशासन भएन भने कुनै पनि रूपान्तरणको नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन ।

विचारको स्पष्टता र संगठनात्मक अनुशासन

विचारको स्पष्टता र संगठनात्मक अनुशासन नै कम्युनिष्ट पार्टीको औचित्यका प्रमुख आधार हुन् । महासचिव सी जिन पिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको विकासको मूल आधार यसैमा निहित रहेको छ । राष्ट्रपति सीले कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी र उपलब्धीमा साझा स्वामित्वबाट दीगो अन्तर्राष्ट्रियसम्बन्ध तथा साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य अन्तरनिर्भर छ भन्ने दृष्टिकोणअगाडि ल्याउनुभएको छ । चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरूसँग बिना शत्रुता विकासको चाहना गरेका तर साधन र क्षमता नभएका विकासोन्मुख मुलुकलाई साथै लिएर अगाडि बढ्न बाटो अवलम्वन गरेको देखिन्छ ।

समाजवादमा कम्युनिष्टले जनताको सेवा गरेर उनीहरूको मन जितेर मात्र शासनको बैधता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । तर, शासनमा बस्नेहरू बिस्तारै अनुशासनमा नबस्ने र जनताको सेवा गर्न भन्दा धनीमानीको पक्षमा वा सुखसुविधामा लागेमा कम्युनिष्टको शासन गर्ने वैधता समाप्त हुन्छ । त्यसैले जनताको मन जित्न सक्षमलाई नेतृत्व सुम्पने र निरन्तर जनताको समर्थन पाउन अनुशासनमा रहनुपर्दछ । समाज समृद्ध हुनका लागि साँस्कृतिक रूपले समुन्नत हुनुपर्छ भन्ने मान्यताले महान् चिनियाँ सभ्यताको पुनर्जागरणलाई समाजवादी समाज विकासका अपरिहार्य शर्तका रूपमा महासचिव सी जिनपिङले अगाडि सार्नुभएको छ । यिनै आधारभूत विशेषताका कारण महासचिव सी जिनपिङ विचार आज विश्वव्यापी बहसको विषय बनिरहेको छ ।

चिनियाँ अनुभवबाट के शिक्षा लिने ?

चिनियाँ कम्युनिष्ट पार्टीको लामो अनुभवबाट समेत शिक्षा लिँदै हामीले नेपाली विशेषताअनुसार कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने र समाजको राजनैतिक, आर्थिक र साँस्कृतिक रूपान्तरण गर्ने प्रयत्न गर्दै आएका छौँ । कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपाली जनताले चलाएको सशस्त्र र शान्तिपूर्ण संघर्ष एवम् बलिदानको लामो शृंखलापश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा आइपुगेको छ । इतिहासका सबै सकारात्मक र नकारात्मक अनुभवहरूको समीक्षासहित नेपालका दुई प्रमुख कम्युनिष्ट पार्टीहरूको एकताले नेपाली जनतामा स्थिरता र समृद्धिको नयाँ आशा र भरोसाको सन्देश दिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न अहिले शान्तिपूर्ण प्रतिष्पर्धा र लोकप्रिय मतसहित सरकारको नेतृत्व गरिरहेको हाम्रो नेपाल कम्युनिष्ट पार्टीले जोड लगाइरहेको छ । सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने हाम्रो स्पष्ट रणनीति रहेको छ । नेपालको संविधानले नै समाजवाद उन्मुख राज्यको ठोस दिशानिर्देश गरेको छ ।

यस सन्दर्भमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको यो अन्तरसम्वाद कार्यक्रमले एक अर्काका अनुभवबाट सिक्ने र आ–आफ्ना विशेषताअनुसार समाजवाद निर्माणको दिशामा अगाडि बढ्न प्ररणा मिल्ने विश्वास मैले लिएको छु ।

(६ र ७ असोजमा काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कूल विभागको आयोजना र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको विशेष आतिथ्यतामा आयोजित ‘सी जिनपिङ’ विचारधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफलमा नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा व्यक्त मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्