Logo
Logo

पदक विजेता खेलाडीलाई किरात राई खेलकुद संघको सम्मान



काठमाडौं । किरात राई खेलकुद संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ ।

संघले आज (बिहीबार) आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना खेलाडीलाई सम्मान गरेको हो । संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो ।  

सागमा स्वर्ण पदक जित्ने उसुका जुनी राई, गल्फका शुक्रबहादुर राई र तेक्वान्दोका सुशीला राई सम्मानित भएका छन् । सागमा पदक जित्नेहरू करातेका एस्तार राई, तेक्वान्दोका संगीता राई, ब्याडमिन्टनका अनुमाया राई र सिता राई, भारत्तोलनका संगीता राई र अस्मिता राई र आर्चरीका इमायुङ राई सम्मानित भएका छन् । 

त्यस्तै बास्केटबलका डा. आशा राई र विकास चाम्लिङ राई, ह्याण्डवलका उमा राई, रञ्जना राई र निशा राई, शारीरिक सुगठनका उमेश राई र देवराज पराजुली र बक्सिङका पुरान राईलाई खेलकुद संघले सम्मान गरेको छ ।  

त्यसैगरी बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राई र टिम व्यवस्थापक मिना कुमारी राई र प्रमिला राईलाई पनि संघले सम्मान गरेको छ ।  

कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यलयमा आयोतित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खेलाडीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरेका थिए । 

खेलाडीहरूको हौसला र प्रोत्साहनको लागि किरात राई खेलकुद संघले खेलाडीको सम्मान गरको संघका अध्यक्ष सञ्जय राईले बताए । 

प्रतिक्रिया दिनुहोस्