Logo
Logo

देउवाको रणनीति : एमाले-माओवादीमा फाटो ल्याउने, राष्ट्रपति जित्दै सत्तामा फर्कने


7.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक तीन पटक सारेको छ । पछिल्लो पटक माघ १५ का लागि तय गरिएको बैठक सारेसँगै कांग्रेस बैठक तीन पटक सरेको हो ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै ‘विशेष कारणवश’ अर्को सूचना नभएसम्मका लागि भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।

कांग्रेसले यसअघि पुस २२ गते बैठक बोलाएको थियो । तर, उक्त बैठक बस्न नसकेका कारण पुस २८ गते सारेको थियो । पुस २८ मा पनि बस्न नसकेको बैठक माघ १५ का लागि तय गरिएको थियो । तर, अब कहिले बैठक बस्छ भन्ने अनिश्चित भएको छ । 

कांग्रेसको विधानअनुसार हरेक २–२ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने हुन्छ । पछिल्लो पटक २७ असारमा केन्द्रीय समितिको बैठक बसेको थियो । त्यसपछि ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पास गर्न अर्को बैठक बस्यो । त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन ।

किन बारम्बार सर्यो बैठक ?
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समयमा समय अभाव भएका कारण कात्तिकमा कांग्रेसको बैठक नबसको हो । त्यसयता भने कांग्रेस बैठक बस्न नसक्नुको विभिन्न कारणहरू रहेका छन् ।

तीन पटक सरेको बैठकमा कांग्रेसले निर्वाचनको समीक्षा गर्ने कार्यसूची थियो । यस अवधिमा निर्वाचन लगत्तै सरकार गठनको अभ्यास प्रारम्भ भएकाले कांग्रेसले बैठक राख्न नसकेको नेताहरू बताउँछन् । तर, तेस्रो पटक बैठक सरेकोबारे भने नेताहरू नै जानकार छैनन् ।

देउवाको अनेक डरले तेस्रो बैठक पनि सर्यो
सरकार गठनको सन्दर्भमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस असफल भयो । सरकारको नेतृत्व गर्नुपर्ने बेलामा सत्ताबाहिर हुनु परेको सन्दर्भको मुख्य जिम्मेवार सभापति शेरबहादुर देउवालाई मानिएको छ । देउवाले यसको जवाफ दिनुपर्ने छ ।

तत्कालीन गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पहिलो कार्यकालको प्रधानमन्त्री दिने वा नदिने सन्दर्भमा सभापतिले पार्टीमा छलफल नै नगरेको भन्दै देउवाको आलोचना हुने क्रम रोकिएको छैन । यो आलोचनाको पनि देउवाले सामना गर्नुपर्ने छ ।

अनपेक्षित रूपमा सत्ता गुमाएको कांग्रेसले प्रधानमन्त्रीलाई अनपेक्षित रूपमा विश्वासको मत दिएको छ । कांग्रेसको बागी टिम ‘शेखर समूह’ले प्रधानमन्त्रीलाई विश्वाको मत दिनु गल्ती भएको ठहर गरिसकेको छ । अब बस्ने बैठकमा देउवाले बागी टिमबाट हुने यो प्रसंगको प्रहार पनि सामना गर्नुपर्ने छ ।

अब बस्ने केन्द्रीय समिति बैठकमा सभापति देउवाले यस्ता अनेक प्रश्नको जवाफ दिनुपर्ने छ । तर, देउवा भने जवाफ दिन तयार छैनन् । बैठक सार्दै–सार्दै बिमतिहरू सेलाउन दिने देउवाको रणनीति रहेको बुझिन्छ । सँगै, देउवासँग अहिले केही ‘प्लान’ छन् । ति प्लानहरू प्रभावित नहोस भन्ने हेतुले पनि तत्काल बैठक राख्न चाहँदैनन् ।

राष्ट्रपति निर्वाचनबाट घाटा पुरताल गर्ने चाहना
कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाएर सत्ता गुमाउँदाको घाटा पुरताल गर्ने देउवाको अहिलेको योजना हो । त्यसैले राष्ट्रपतिको निर्वाचन अगाडि केन्द्रीय समितिको बैठक राख्न चाहेका छैनन् ।

राष्ट्रपति निर्वाचन अगाडि केन्द्रीय समितिको बैठक बसे माओवादीको चर्को आलोचना हुने र त्यसले राष्ट्रपति निर्वाचनमा असर पार्ने देउवाको बुझाइ हो । किनकी, माओवादीलाई फकाएर राष्ट्रपति हत्याउने दाउमा छन्, देउवा ।

राष्ट्रिय सहमतिको नाममा कांग्रेसले माओवादीलाई पनि आधाआधी ‘कन्भिन्स’ गरिसकेको छ । यसै आधारमा माओवादीको सहयोगमा राष्ट्रपति जित्ने देउवाको बुझाइ हो ।

राष्ट्रपतिको निर्वाचनमा माओवादीको साथ पाए वर्तमान सत्तागठबन्धन टुट्ने कुरामा पनि देउवा आशावादी छन् । एमालेले राष्ट्रपति नछोड्न तर माओवादीले एमालेबाट राष्ट्रपति नहोस भन्ने चाहना राख्ने विषयमा देउवा जानकार छन् । यसै विषयबाट एमाले–माओवादी सम्बन्धमा खटपट ल्याएर सत्तामा पुनरागमन गर्ने पनि देउवाको दाउ हो ।

यसरी, राष्ट्रपति निर्वाचमा सम्पूर्ण शक्ति खर्चने योजनासहित देउवाले पार्टीको केन्द्रीय समिति बैठक अनिश्चित कालका लागि सारेको हुनसक्छ । एमाले–माओवादीमा खटपट ल्याउन सके पुनः निर्वाचन अघिकै गठबन्ध व्युँतने र त्यसस्तो अवस्थामा स्वत् पार्टीका बिमतिहरू मत्थर हुने देउवाको बुझाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्