रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलीय भागबण्डामा नभएर सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने बताएका छन् ।

रौतहट सदरमुकाम गौरको विपी स्मारक तथा घण्टाघरको आज (बिहीबार) शिलान्यासपश्चात सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सबैको साझामा उम्मेदवार भए उपयुक्त हुने बताए ।
उनले भने, ‘सत्ताधारी दलको धारणा के छ, उनीहरूबाट मात्रै हो त्यसमा मलाई केही भन्नु छैन तर देश विकास र अग्रगमनको दिशामा अघि बढ्न सबैको साझा उम्मेदवार भए उपयुक्त हुन्छ ।’
दलीय भागबण्डामा सन्तुलन बिग्रन सक्ने भएकाले सबै दलको छलफलपछि एकढिक्का भएर राष्ट्रपतिको उम्मेदवारी दिएमा राम्रो हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति उम्मेदवारको विषयमा आफूसँग अहिले कुनै कुरा नभएको पनि उनको भनाइ थियो ।














