महोत्तरी । महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
बर्दिबास–३ पाटुमोडमा बिहीबार प्रदेश–२–०२–००१ त २२६४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सिन्धुलीको लङ्गुरखोला महादेवको दर्शन गरेर फर्किएका २९ जना यात्रु सवार सो ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
दुर्घटनामा घाइते २८ जनामध्ये एकको अवस्था चिन्ताजनक छ । धनुषास्थित औरही नगरपालिका वडा नम्बर–५ का कुमारी मण्डललाई जनकपुरधामस्थित रामजानकी अस्पतालमा भर्ना गरिएको छ ।
ट्याक्टरमा सवार सबै यात्रु धनुषास्थित औरही–५ का हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरुको उपचार जनकपुरधामस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, शुभस्वस्तिक र बर्दिबास अस्पतालमा भइरहेको छ।














