Logo
Logo

एकीकृत यातायात मजदुर संगठनद्वारा यातायात आयोग गठनको माग


315
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट एकीकृत यातायात मजदुर संगठन नेपालको चौँथो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

बैठकले सरकारसमक्ष सार्वजनिक यातायातलाई प्रभावकारी संचालन परिचालन व्यवस्थापन, यात्रुलाई गुणस्तरीय सेवा, श्रम कानुनको पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सरोकारवाला सम्मिलित अधिकार सम्पन्न यातायात आयोग गठनलगायत ११ बुँदे मागपत्र पेश गर्ने निर्णय गरेको छ ।

राज्यको अव्यावहारिक २० वर्षे नीति र ट्राफिक प्रहरीले चालकको लाइसेन्स निलम्बन गरि यातायात मजदुरलाई आतंकित पार्ने र विदेशिन बाध्य पार्ने कार्यको घोर भत्सर्ना गरेको छ ।

ट्राफिक प्रहरीको ज्यादती बिरूद्ध स्वरोजगार यातायात मजदुर संगठन र सरोकारवाला पक्ष सहित बृहत छलफल गरि आन्दोलन गर्ने समेत बैठकले निर्णय गरेको एकीकृत यातायात मजदुर संगठन नेपालका अध्यक्ष रबि केसीले बताए ।

संयुक्त यातायात प्रालि द्वारा सञ्चालित सवारीसाधन दुर्घटना भए पश्चात् घटनाको छानबिन क्रममा रहेको बेला व्यक्तिगत लगानीमा संचालित सवारीसाधन तोडफोड गर्ने कार्यको समेत बैठकले घोर भत्सर्ना गर्दै घटनामा संलग्न ब्यक्तिहरूलाई कानुनी कारबाही गर्न गृह प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठक एकीकृत ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष विष्णु लम्सालको प्रमुख आतिथ्य एवं सचिव कुमार सापकोटाको विशेष आतिथ्य तथा स्वरोजगार यातायात मजदुर संगठन नेपालका केन्द्रीय अध्यक्ष खड्गबहादुर गिरीको आतिथ्यमा अनामनगर काठमाडौंमा सम्पन्न भएको हो ।

एकीकृत यातायात मजदुर संगठन नेपालका अध्यक्ष रबि केसीको अध्यक्षतामा बसेको बैठकले आगामी कार्ययोजना समेत पारित गेरेको छ । बैठकले केन्द्रीय कमिटीमा प्रेम लामालाई उपाध्यक्ष, शरण लामालाई महासचिव, राजेन्द्र क्षेत्री र हरिराम धिताललाई सचिव र दुर्गाबहादुर श्रेष्ठ र सुधन शाहीलाई सदस्यमा जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्