Logo
Logo

आफ्नै कर्मचारी थुनाउन किन अघि सरे पन्त ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ असोज । बैंकको कर्जा प्रवाहको सन्दर्भमा झण्डै पाँच करोड रूपैयाँको ऋण दूरूपयोगको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंक अफ काठमाण्डू (बिओके) का पूर्व सीईओ अजय श्रेष्ठसहित अन्य डेढ दर्जन कर्मचारीलाई हिरासतमा राखेर बयान लिइरहेको छ । प्रहरीले थप अनुसन्धानका लागि अदालतबाट थुन्ने म्याद लिएर उनीहरूलाई बयान लिएको हो । अजय श्रेष्ठ भने बिरामी परेपछि गत शनिबारदेखि वीर अस्पतालको क्याबिन नं.२ मा बसेर उपचार गराइरहेका छन् । अन्य कर्मचारी चाँही प्रहरीको हिरासतमा छन् ।

बैंक व्यवस्थापनलाई प्रहरीले ‘यो फाइल हामीले अनुसन्धान गरेपछि तत्काल सबैजना कर्मचारीलाई हिरासतमा लिनुपर्ने हुन्छ, त्यसैले तपाईंहरूलाई आफ्ना कर्मचारीमाथि शंका भएमात्र निवेदन दिनुस् अन्यथा, बैंकभित्रैबाट समस्याको समाधान गर्नुुहोला’ भन्दाभन्दै पनि बैंकका प्रमुख कार्यकारी अधिकृत पन्तको विशेष जोडबलमा बैंकको सञ्चालक समितिले प्रहरीलाई मुद्दा जिम्मा लगाउने निर्णय गरेर बैंक व्यवस्थापन पछि नहट्ने अवस्थामा पुगेको हो । त्यसको १० दिनपछि ऋणी सुरेन्द्र श्रेष्ठ र लगत्तै योजनाकार भुपेन्द्र श्रेष्ठ पनि पक्राउ परे । त्यसपछि क्रमशः बैंकका बहालवाला र पूर्व कर्मचारीहरू गरी १९ जना पक्राउ परे ।

अधिकांश बैंकर र स्वयम् बीओकेका कर्मचारी अजय श्रेष्ठलाई इमान्दार बैंकर मान्दछन् । हिरासतमा रहेका अन्य कर्मचारी पनि यसअघि खासै विवादमा आएका कर्मचारी होइनन् । तर, जुन ऋणीले नियोजित रूपमा बैंकलाई फसाएको छ, त्यसलाई हेर्ने हो भने ती ऋणी बीओके भन्दा पहिले अर्को बैंकमा ऋणको लागि निवेदन पेश गर्न जाँदा शंका लागेर उक्त बैंकले फिर्ता पठाएको खबर पनि बाहिर आएको छ । यसअघि अर्को एउटा विकास बैंकमा पनि यस्तै खालको घटना हुँदा उक्त बैंकको व्यवस्थापनले निकै बुद्धिमतापूर्वक ऋणीसँग झण्डै २ करोड रुपैयाँको कर्जा असुल गरेर खराब कर्जाबाट जोगाएको थियो । तर, अहिले बैंक अफ काठमाण्डूूको व्यवस्थापन किन एकाएक प्रहरी भन्दा एक कदम अघि बढेर आफ्नै कर्मचारीविरुद्ध मुद्दा दिन अघि स¥यो ? यो पक्षचाँही रोचक देखिन्छ ।

के गरेको थियो बीओकेले ?

विज्ञहरूका अनुसार झण्डै डेढ वर्षअघि नै बैंक अफ काठमाण्डूको व्यवस्थापनले थाहा पाएको यो विषयलाई लामो समयसम्म कर्जा असुलीको लागि किन पहल गरेन ? यो विषयलाई मुख्य पाठ बनाएर बैंक व्यवस्थापनले पछिल्लो एक वर्षमा कर्मचारीलाई कर्जा प्रवाहमा के कस्तो समस्या देखिन्छ भन्ने आन्तरिक प्रशिक्षण नै गर्दै आएको छ । तर यस्तो संवेदनशील विषयलाई भिन्नै ढंगले समाधानको पहल नगरी आफ्ना पूर्व र बहालवाला कर्मचारीलाई पक्रन सोझै प्रहरीकोमा निवेदन बोकेर गएकोमा स्वयम् केन्द्रीय बैंक र अन्य बैंकरसमेत तीन छक परेका छन् ।

स्रोतका अनुसार हेटौंडाका सुरेन्द्र श्रेष्ठले बैंकबाट २०७१ सालमा ऋण लिँदा बुझाएको सबै कागजपत्र र धितो नक्कली हो भन्ने बैंक ब्यवस्थापनले थाहा पाएको डेढ वर्षपछि मात्र सिईओ शोभनदेव पन्त प्रहरीकोमा पुगेको थियो । जबकी यो विषयलाई बैंकभित्र निकै उचालिएको थियो तर, सम्बन्धित कर्मचारीलाई जानकारी समेत नदिइएको पीडित कर्मचारी बताउँछन् । यसरी बैंकले किर्ते कागजात पेस गरेर ऋण लिएकाले ऋणी र सम्बन्धित कर्मचारीलाई आवश्यक कारबाहीको लागि निवेदन बोकेर प्रहरीकोमा गएपछि बैंक व्यवस्थापनलाई प्रहरीले ‘यो फाइल हामीले अनुसन्धान गरेपछि तत्काल सबैजना कर्मचारीलाई हिरासतमा लिनुपर्ने हुन्छ, त्यसैले तपाईंहरूलाई आफ्ना कर्मचारीमाथि शंका भएमात्र निवेदन दिनुस् अन्यथा, बैंकभित्रैबाट समस्याको समाधान गर्नुुहोला’ भन्दाभन्दै पनि बैंकका प्रमुख कार्यकारी अधिकृत पन्तको विशेष जोडबलमा बैंकको सञ्चालक समितिले प्रहरीलाई मुद्दा जिम्मा लगाउने निर्णय गरेर बैंक व्यवस्थापन पछि नहट्ने अवस्थामा पुगेको हो । त्यसको १० दिनपछि ऋणी सुरेन्द्र श्रेष्ठ र लगत्तै योजनाकार भुपेन्द्र श्रेष्ठ पनि पक्राउ परे । त्यसपछि क्रमशः बैंकका बहालवाला र पूर्व कर्मचारीहरू गरी १९ जना पक्राउ परे । आफ्ना कर्मचारी पक्राउ परेपछि बैंक व्यवस्थापनले भने पानीमाथि ओभानो बन्दै कर्मचारीलाई प्रहरी हिरासत भन्दा बाहिर राखेर अनुसन्धान गर्न आग्रह गर्यो । तर प्रहरीले पहिले नै आफूहरूले दिएको सुुझावलाई लत्याउने बैंक व्यवस्थापनप्रति रुष्ट हुँदै उनीहरूको अनुरोध सुन्न चाहेन । लगत्तै पन्तले सेन्टिमेण्टल मेसेज पठाएर बैंकर्स संघका पदाधिकारीसमक्ष आफू र व्यवस्थापनको कुनै गल्ति नरहेको पनि जानकारी गराए ।

किन यति रुष्ट व्यवस्थापन ?

बैंक अफ काठमाण्डूका सीईओ शोभनदेव पन्त आफूलाई निकै वरिष्ठ र जानकार बैंकरको रूपमा उभ्याउँछन् । उनीअघिका अजेय श्रेष्ठचाँही आफूलाई सकेसम्म सरल र कामको हिसाबले कनिष्ठ देखाउन चाहन्थे । शोभनदेव यसअघि लुम्बिनी बैंकमा सीईओ थिए । लुम्बिनी त्यहि बैंक हो जो खराब कर्जाको कारण वित्तीय अवस्था डाँवाडोल भएर बैंकलाई डुब्नबाट बचाउन नेपाल राष्ट्र बैंकले व्यवस्थापन हातमा लिएको थियो । केन्द्रीय बैंकका हर्ताकर्तासँगको हिमचिमका कारण पन्तले लुम्बिनीमा जे गरेपनि राष्ट्र बैंकले आँखा चिम्लिदिन्थ्यो । पछि, बीओकेसँग मर्जर गर्न पनि ठूलाबडाकै आशिर्वाद मिल्यो र मोटो रकमको तलब, भत्ता र अन्य सुविधासँगै झन् राम्रो बैंकको सीईओ पाए । लुम्बिनी बैंकका सबैजसो ठूला भनाउँदा कर्मचारीको टिम नै लिएर पन्त बीओकेमा आए । ती सबैको ट्रयाक रेकर्ड लुम्बिनीमा छँदै खराब थियो । बीओकेमा लुम्बिनी बैंकले प्रदान गरेको अधिकांश कर्जाको अवस्था झन् खराब हुँदै गएको देखिन थाल्यो । बीओकेमा आएपछि पन्तको टिमले पनि खासै उल्लेखनीय काम गर्न नसकेको विश्लेषण हुँदै थियो । यसैलाई भजाउन र आफ्नो टिमलाई जोगाउनको लागि बैंकका पूर्व सीईओ देखि केही बहालवाला कर्मचारीलाई दशैंको मुखमा बैंकिङ्ग कसुरको बहानामा चीसो छिँडीमा पुर्याएको बीओकेमा कार्यरत पूराना कर्मचारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्