Logo
Logo

रवि लामिछानेको सबै पद चट, नागरिकतासम्बन्धी कसुरमा जेल जान सक्ने



काठमाडौं । सर्वोच्च अदालतले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेसँगै रवि लामिछानेको सम्पूर्ण पद गुमेको छ । साथै, उनी कारबाहीको भागिदार बन्ने सम्भावना बढेको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा रविले गरेका सबै कार्य अवैध हुने भनेको छ । यस कारण रविका सम्पूर्ण पद गुमेका हुन् ।

हाल रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति छन् । केही महिना अगाडि रविले खारेज भइसकेको नागरिकता प्रयोग गरेर पार्टी दर्ता गराएका थिए । र, सभापति बनेका थिए ।

त्यसैगरी सोही नागरिकता प्रयोग गरेर मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन–२ बाट उम्मेदवार भइ निर्वाचित भएर उपप्रधान तथा गृहमन्त्री भएका थिए । 

सर्वोच्चको फैसलासँगै अब भने रवि पार्टीको साधारण सदस्य समेत रहने छैनन् । त्यसैगरी, सर्वोच्चको फैसलासँगै उनको संसद् र मन्त्री पद स्वत खारेज भएको छ ।

सर्वोच्चको फैसलासँगै रविमाथि नागरिकतासम्बन्धी कसुरमा कारबाही हुने सम्भावना समेत बढेको छ ।  नेपाली नागरिकका रुपमा रविले गरेका सबै कार्य अवैध ठहर भएसँगै उनी कारबाहीको भागिदार बन्नु पर्ने देखिन्छ ।

एक अधिवक्ताका अनुसार रवि नागरिकतासम्बन्धी कसुरमा जेल जानसक्ने समेत सम्भावना रहेको छ । ति अधिवक्ताले भने– ‘सर्वोच्चको फैसलासँगै रविका सम्पूर्ण गतिविधि अवैध ठहर भएको छ । उनले खारेज भइसकेको नागरिकता प्रयोग गरेर यस अवधिमा गरेका सम्पूर्ण कार्यहरू कसुरका हकदार हुन्छन् । त्यसैले जेल जाने सम्भावना रहन्छ ।’

सर्वोच्चले रविलाई नै अवैध नागरिक ठहर गरेसँगै उनी सभापति रहेको पार्टी रास्वपाको भविष्य समेत संकटमा देखिन्छ ।

सर्वोच्चले नेपाली नागरिकका रुपमा रविले गरेका सम्पूर्ण काम अवैध ठहर गरे पनि नागरिकतासम्बन्धी कसुर गरेको हो यो होइन भन्ने विषयमा अहिलेसम्म केही बोलेको छैन ।

यो फैसलाको पूर्णपाठ नआएसम्म यसो नै भन्न सक्ने अवस्था छैन । तर, सर्वोच्चले नागरिकतासम्बन्धी कसुर समेत गरेको ठहर गरेको खण्डमा उनी जेल जाने छन् । यसका लागि फैसलाको पूर्णपाठ पर्खनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्