
काठमाडों । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस ठूलो पार्टी भएकाले अहिले प्रमुख प्रतिपक्ष भए पनि कुनै पनि बेला सरकारको नेतृत्व गर्न सक्ने बताएका छन् ।
आज विराटनगरमा आयोजित नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम प्रदेश अधिवेशन उद्घाटनमा नेता कोइरालाले मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सबैभन्दा धेरै सिट जितेको पार्टी भएकाले हाल प्रतिपक्षमा रहेको कांग्रेस कुनैपनि बेला सरकारको नेतृत्वमा पुग्न सक्ने बताएका हुन् । माओवादी केन्द्रसँग गठबन्धन गरि निर्वाचन लडेको कांग्रेस माओवादी अध्यक्ष प्रचण्डले अन्तिम समयमा नेकपा एमालेसँग मिलेर सरकार बनाएपछि प्रतिपक्षमा बस्न बाध्य भएको हो ।
नेता कोइरालाले राष्ट्रपति निर्वाचन फागुन २८ गते भन्दा अगाडि नै हुनुपर्ने पनि बताएका छन् । उनले आगामी राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने बताएका छन्। पार्टीभित्र उम्मेदवारका विषयमा छलफल चलिरहेको र नाम टुंगो नलागे पनि उम्मेदवारी दिनेमा भने कांग्रेस प्रस्ट रहेको उनको भनाइ छ ।
उनले संविधान भन्दा माथि कोही हुन नसक्ने भएपनि बर्तमन राष्ट्रपतिले गरेको असंवैधानिक क्रिक्रयाकलापले राज्य सञ्चालनमा ‘चेक एन्ड ब्यालेन्स’का निम्ति सत्ताबाहिरको दलबाट राष्ट्रपति हुन आवश्यक भएको दाबी पनि गरे।














