Logo
Logo
कला

‘सानैमा मलाई यो त हिरोइन बन्छ भन्थे’



तामाङ फिल्मकी चर्चित अभिनेत्री हुन्, रोश्नी ब्लोन तामाङ । करिब दुई दशकदेखि आफ्नो भाषा, संस्कृति एवं परम्पराको जगेर्ना र प्रवद्र्धन गर्ने हेतुले कलाकारितामा सक्रिय रोश्नीले हालसम्म एक दर्जनभन्दा बढी तामाङ र आधा दर्जन नेपाली फिल्ममा अभिनय गरिसकेकी छिन् ।

बाराकी रोश्नीले म्युजिक भिडियोमार्फत कला क्षेत्रमा करिअर सुरु गरेकी हुन् । ६० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी रोश्नी पछिल्लो समय फिल्म अभिनय र निर्माणमा व्यस्त छिन् । हाल फिल्म ‘टुहुरा’ र ‘बेहुली’ टेलिसिरियलमा व्यस्त रहेकी रोश्नी -याम्प मोडलिङ पनि रुचाउँछिन् । अभिनेत्री रोश्नी ब्लोन तामाङसँग एमपी सुब्बाको जम्काभेट :

आजभोलि के गर्दै हुनुहुन्छ ?
म्युजिक भिडियोहरू गरिहेकी छु । त्यसबाहेक नेपाली फिल्म ‘टुहुरा’को सुटिङ चलिरहेको छ । मेरो टेलिसिरियल ‘बेहुली’ पनि प्रसारण भइरहेको छ ।

तपाईँ तामाङ भाषाका गीत र फिल्म बढी गर्नुहुन्छ होइन त ?
मेरो पहिलो प्राथमिकता तामाङ भाषाका फिल्म हो । तर, भिडियोहरू त सबै प्रकारका गर्दै आएकी छु । अहिलेसम्म नेपाली म्युजिक भिडियो नै बढी गरेकी छु ।

नेपाली फिल्मचाहिँ अफर नआएर हो ?
अफर नआएर होइन, प्राथमकितामा नपरेर हो । तामाङ भाषा र नेपाली फिल्ममध्ये दुई वटा एकैसाथ अफर आएर एउटै समयमा सुटिङ हुने भयो भने मेरो पहिलो रोजाइ तामाङ भाषा नै हुन्छ ।

तपाईँले अभिनय गर्ने फिल्म कस्तो हुनुपर्छ ?
वास्तविक कथावस्तु चित्रण गर्ने र नारीप्रधान हुनुपर्छ । त्यो फिल्मले मनोरञ्जनसँगै समाजमा सकारात्मक सन्देश दिन सकोस् ।

कला क्षेत्र नै किन रोज्नुभयो ?
सानैदेखि कलाकारितामा मेरो रुची थियो । तर, कलाकार बन्छु भन्ने सोचेको थिइनँ । गाउँघरमा दशैं–तिहारमा नाटकहरूमा अभिनय गर्थेँ । त्यो बेला सबैबाट तारिफ पाउँथेँ र ‘यो त हिरोइन बन्छ कि के हो’ भन्थे । तर, कला क्षेत्रमा आफ्नो मान्छे नहुँदा डर लाग्थ्यो ।

कलाकारितामा पाइला राख्ने अवसर कसरी मिल्यो ?
काठमाडौं आएपछि एउटा अफिसमा रिशेप्सनको जागिर सुरु गरेँ । त्यहाँ धेरै मान्छेहरू आउँथे । चलचित्र क्षेत्रका कलाकार, निर्देशक र निर्माताहरू पनि आउँथे । त्यहाँ आइरहनेमध्ये एक जनाले म्युजिक भिडियोमा मोडलिङ गर्ने हो ? भनेर प्रस्ताव गर्नुभयो । त्यसपछि गायक राम थापाको ‘पल्टन कश्मिरमा’ भन्ने गीतको भिडियोमा मोडलिङ गरेँ । मेरो कलाकारिताको सुरुवात त्यहीबाट भएको हो ।

त्यो भिडियो कतिको चल्यो ?
त्यो गीत त्यतिखेर हिट थियो । २०६०÷०६१ सालतिर माओवादी जनयुद्ध अन्तिमतिर थियो । गीतको बोलअनुसार पनि त्यो बेला ‘पल्टन कश्मिरमा’ रुचाइएको थियो । त्यसपछि लगातार चार वर्ष भिडियोमा व्यस्त भएँ । २०६४ सालपछि तामाङ भाषाको चलचित्रतिर लागेकी हुँ ।

तपाईँ अभिनीत पहिलो तामाङ फिल्म कुन हो ?
२०६४ सालमा गरेकी थिएँ । फिल्मको नाम ‘चाङ स्युमी’ अर्थात सासु–बुहारी । त्यसपछि चाहिँ लगातार ४÷५ वटा फिल्म गरेँ ।

अहिलेसम्म कति फिल्ममा काम गर्नुभयो ?
तामाङ र नेपाली गरी १६ वटा फिल्म पुग्यो । त्यसमध्ये ६ वटा नेपाली फिल्म हो । जसमा ‘द मंगोलियन हर्ट’, ‘द कलेज’, ‘दुई मन’, ‘अधुरो चाहना’लगायत छन् ।

फिल्ममा लगानी पनि गर्नुभयो होइन त ?
एउटा फिल्ममा लगानी गरेकी छु । रहरले तामाङ फिल्म ‘डोसिला ज्युनिरी’ बनाएँ । त्यो फिल्म आफैंले चलाइन । सिधै कम्पनीलाई बेचिदिएँ ।

तामाङ भाषा फिल्मको बजार कस्तो छ ?
बजार सानो छ । त्यहीअनुसारको लगानी पनि छ । थोरै खर्च हुने भएकाले च्यारिटी गरेर पनि तामाङ भाषाका फिल्मबाट लगानी उठाउन सक्ने अवस्था छ ।

प्रशंग बदलौँ, ज्यान फिट र सधैं सुन्दर राखिराख्नुको रहस्य के हो ?
त्यस्तो खास रहस्य छैन । जिम वा एक्सरसाइज गर्दिनँ । कम खान्छु । उठ्नेवित्तिकै एक गिलास तातो पानी र त्यसपछि ब्ल्याक कफी पिउँछु । मेरो सुन्दरता भनेको गड गिफ्ट हो ।

यति सुन्दर मान्छे, अहिलेसम्म सिंगल ?
एकातिर म व्यस्त छु, अर्कातिर लगन नजुरेर पनि हुन सक्छ । एक समय एक जनासँग नाम जोडर हल्ला पनि चलेको थियो । तर, हामीले त्यस्तो विवाह गरेका थिएनौँ । त्यो हल्ला मात्र थियो ।

विवाहको अफर कतिको आउँछ ?
उमेर पुगेको छोरी मान्छे हो, अफर त आइहाल्छु नि । तर, अहिलेसम्म मैले स्वीकारेकी छैन । को कस्तो मान्छे भनेर अहिलेको समयमा चिन्नै सकिँदैन । मेरो लागि को फिट छ भनेर बुझ्न नसक्दा विवाह हुन सकेको छैन ।

घरबाट विवाहको दवाव आउँछ कि आउँदैन ?
दवाव आउँछ नि । मेरो आमाको इच्छा नै मेरो विवाह हेर्ने हो । हामी जम्मा पाँच बहिनी हौँ । म माइली । सबैको घरजम भइसक्यो । मेरो बुबा हुनुहुन्न । बुबाले पनि अन्तिम सास रहेसम्म मेरो विवाह भएको हेरेर मात्र मर्छु भन्नुहुन्थ्यो ।

कहिलेसम्ममा विवाह गर्ने सोच छ ?
मन र विचार मिल्ने पाएँ भने एक/दुई वर्षभित्र घरजम गर्ने मन छ । तर, मेरो पेसालाई सम्मान गर्ने हुनुपर्छ । मलाई झुटो बोल्ने मान्छे मन पर्दैन ।

प्रतिक्रिया दिनुहोस्