काठमाडौं । एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क घटेको छ ।
बैंक तथा वित्तीय संस्थाले अन्तर एटीएम कारोबारमा अब एक पटकमा अधिकतम १५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने भएका छन् ।

यसअघि यस्तो कारोबारमा बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार बढीमा २० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।
राष्ट्र बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमार्फत अन्तर एटीएम कारोबार शुल्क घटाइएको हो ।
‘बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुँदा प्रति कारोबार बढीमा १५ रुपैयाँसम्म शुल्क लिन सक्नेछन्,’ एकीकृत निर्देशिकामा भनिएको छ ।
अब हरेक अन्तर एटीएम कारोबारमा शुल्क लाग्ने भएको छ । यसअघि मासिक न्यूनतम २ वटा अन्तर एटीएम कारोबारमा शुल्क लिन नपाइने व्यवस्था थियो ।
डेविट कार्डबाट एक पटकमा २५ हजार, दैनिक १ लाख र महिनामा ४ लाख रुपैयाँसम्म एटीएमबाट झिक्न पाइने व्यवस्था छ ।
यस्तै राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ ।
यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजारसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन दुई लाखसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ।
वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन दुई लाखसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो ।











