काठमाडौं । पहिलो सिजनको वुमन्स प्रिमियर लिग (डब्लूपिएल)का लागि सिफारिस गरिएका नेपाली खेलाडी अन्तिम सूचीमा पर्न असफल भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले अक्सनमा पाँच जनाको नाम सिफारिस गरेको थियो । जसमा राष्ट्रिय टिमकी कप्तान रूबिना क्षेत्री, सीता रानामगर, इन्दू बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्य रहेका थिए ।

अन्तिम सूचीमा ४०९ खेलाडी परेका छन्, जसमध्ये १६३ विदेशी खेलाडी छन् भने बाँकी भारतीय खेलाडी रहेका छन् । तीमध्येबाट ९० जना खेलाडी अक्सनबाट टिममा छानिनेछन् । सूचीमा आठ जना खेलाडी एसोसिएट कोटामा छन् । जसमा चार जना युएईका छन् भने हङकङ, नेदरल्यान्ड्स, थाइल्यान्ड र अमेरिकाका एक–एक खेलाडी एसोसिएट कोटाबाट सूचीमा परेका छन् ।
यो पहिलो सिजनको डब्लूपिएलमा पाँच टिमबीच प्रतिस्पर्धा हुँदैछ । जसमा बेंगलुरु, दिल्ली, गुजरात, लखनउ र मुम्बईले पहिलो सिजनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । लिगका लागि १३ फेबु्रअरीमा अक्सन हुँदैछ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआइ) को आयोजनामा हुने लिगलाई महिला आइपिएलको रुपमा लिइएको छ । जनवरी २०२३ मा बिसिसिआइले लिगको नाम डब्लूपिएल हुने घोषणा गरेको थियो । लिग आगामी मार्च ४ देखि २६ सम्म मुम्बईका दुई रंगशालामा कुल २२ खेल हुनेछन् ।














