काठमाडौं । नेकपा माओवादी केन्द्रले फागुन १ गते देशैभर जनयुद्ध दिवश मनाउने तयारी गरेको छ । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवशका रुपमा मनाउँदै आएको हो ।
तत्कालीन नेकपा (माओवादी)ले २०५२ साल १ फागुनमा जनयुद्धमा जाने उद्घोष गरेको थियो । त्यही दिनदेखि हरेक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको हो । यो २८औँ जनयुद्ध दिवश हो ।

नेकपा माओवादीले केन्द्रले २८औँ जनयुद्ध दिवश केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा भव्य कार्यक्रमको आयोजनासहित मनाउने तयारी गरिएको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिएका छन् ।
उनका अनुसार फागुन १ गते बिहान ८ बजे जनयुद्ध दिवस मनाउने पार्टीले निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।
यस्तै, फागुन १ गते आ–आफ्नो अनुकूलतामा प्रदेश, जिल्ला र पालिकामा जनयुद्ध दिवस मनाउन सर्कुलर जारी गरिएको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै, कर्णाली प्रदेश र बाग्मती प्रदेशले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको ढाकालले जनाएका छन् ।











