काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरेका छन् ।

सङ्घीय संसद्को संयुक्त सदनलाई आज सम्बोधन गर्दै उनले सरकारका कामकारबाहीमा सबै नागरिकबाट सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गरे ।
‘सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम, सरकारले अघि सार्ने नीति तथा कार्यक्रम, बजेट एवं नागरिकको समृद्धि र विकासप्रतिको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्नेछन्’, सम्बोधनमा उनले भने, ‘नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट पूर्ववत् सहयोग मिल्ने विश्वास गर्दछु ।’
वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम अघि सारेको जनाउँदै उनले ती विषयहरूलाई सरकारले समयबद्ध कार्ययोजना बनाएर नतिजा प्राप्त हुने गरी तत्कालै कार्यान्वयनमा लैजाने नै विश्वास व्यक्त गरे ।
‘नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गर्दा यी सबैलाई समेट्दै सोका आधारमा बजेटमा आवश्यक स्रोत व्यवस्थापन गर्ने नै छ’, सम्बोधनका क्रममा उनले भने ।











