रौतहट । रौतहटको बृन्दावन नगरपालिकास्थित वाग्मती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर शनिबार दुई पक्षबीच झडप भएको छ ।

झडपमा दुवै पक्षका चार जना समान्य घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा स्थानीयले कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरिएको छ । नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए ।
उनका अन्ुसार अहिले अहिले अवस्था सामान्य भएको छ । घटनापछि नगरप्रमुख पटेलका समर्थकले गौर–चन्द्रनिगाहपुर खण्डमा जम्मा भएका छन् । पुनः झडप हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
वाग्मती नदीको दुवै घाटबाट अमानतमा गिटी, बालुवा निकासी हुँदै आएपछि स्थानीयले विरोध जनाएका थिए । यहीबीच शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय नेता बसेर तत्काल अमानतमा निकासीको रसिद काट्न नदिन नगरप्रमुख विनोद पटेललाई अनुरोध गरेका थिए ।











