Logo
Logo

कुनै बेला कसैले नपत्याएका दीपक कसरी चम्किए ?



काठमाडौं । नेपाली सुगम गीतसंगीतका चर्चित संगीतकार दीपक शर्मा आफ्नो संफलताको फड्को देखेर खुसी छन् । फिल्म होस् वा आधुनिक गीतको संगीत नै किन नहोस्, केही समययता जताततै उनीद्वारा संगीतवद्ध गीत गुञ्जिरहेका छन् ।

आफ्नो चर्चा सुनेर हिजोआज आफैंलाई प्रश्न गर्छन्, ‘के त्योबेला कसैलाई नपत्याएका दीपक शर्मा मै हुँ ?’ जतिखेर उनी संगीतमा भविष्य खोज्दै म्याग्दीबाट काठमाडौं छिरेका थिए, त्योबेला कसैले नपत्याएको उनीसँग तितो अनुभव छ ।

भनिन्छ, संघर्ष र मिहिनेत खेर जाँदैन । दीपकले यतिखेर मिहिनतको रस चाखिरहेका छन् । चर्चित संगीकार बन्ने संकल्प र सपनासहित लगातार पाँच वर्ष दीपकले मिहिनेत गरिरहे । प्रतिफलस्वरुप संगीत क्षेत्रको चुचुरो टेक्न उनी सफल भएका छन् । अहिले उनी छाती फुलाएर भन्छन्, ‘अहिले आफैंलाई सम्झेर गौरम्वित छु ।’

दीपक आफ्ना विगत स्मरण गर्दै भन्छन्, ‘काठमाडौंमा करिब ५ वर्ष कडा संघर्ष र मिहिनत गर्नुप¥यो । दुर्गमबाट आएर यहाँ संगीतबाट कमाएर पेट पाल्न चानचुने थिएन । तर, संघर्षबाट भागिनँ । मिहिनत गरिरहेँ । त्यसैले आज संगीतबाट नामसँगै दाम कमाउन सक्ने अवस्थामा पुगेँ ।’

गीतकारसमेत रहेका दीपक झण्डै दुई दशकदेखि संगीत सिर्जनामा छन् । यहाँसम्म आउँदा एक हजारभन्दा बढी गीतमा संगीत दिइसकेका छन् । २०६१ सालदेखि नेपाली सुगमसंगीतमा पाइला राखेका दीपक अहिलेका चर्चितमात्र नभएर व्यस्त संगीतकार हुन् । ३२ वटा नेपाली फिल्ममा मात्र संगीत गरिसकेका उनी भन्छन्, ‘गीतकै संख्या भन्ने हो भने एक हजारभन्दा बढी भइसक्यो । दुई सयभन्दा बढी मेरो आफ्नै गीत रेकर्ड भइसकेको छ ।’

म्याग्दीको मंगला–१ मा जन्मेहुर्केका दीपक सानैदेखि गीतसंगीत रुचाउँथे । तर, देशकै चर्चित संगीतकार बन्छु भन्ने उनले सपना देखेका थिएनन् । ‘सानैमा गाउँथें, बजाउँथें’ उनी सम्झिन्छन्’ ‘त्यो बेला पनि संगीत सिर्जना गर्थे । तर, संगीतबाटै नाम र दाम कमाउन सक्ने भइन्छ भन्ने सोचेकै थिएन ।’

त्यसो त दीपक भाग्यमानी संगीतकार मानिन्छन् किनकि, उनका हरेक सिर्जना लोकप्रिय बनेका छन् । संघर्षकै क्रममा हुँदा दीपकले ‘मलाई आफ्नो बनाएर’ बोलको गीत सिर्जना गरेका थिए । जुन गीत अहिले पनि लोकप्रिय छ । दीपक भन्छन्, ‘गीत चल्न थालेपछि मान्छेले पनि विश्वास गर्न थाले । त्यतिखेरै ‘छुटिएर तिमीसँग’ बोलको गीत बनाएँ । त्यसपछि अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।’

नेपाली संगीतका लागि ‘छुटिएर तिमीसँग’ बोलको गीत दशक तथा श्रोताले अत्याधिक रुचाए । उक्त गीत ‘ब्लकबस्टर’मात्र बनेन, दीपकका लागि संगीतकर्मको ‘टर्निङ प्वाइन्ट’ नै बन्यो । दीपकले सिर्जना गरेका दर्जनभन्दा बढी गीतहरु अहिले पनि युट्युबमा ट्रेण्डिङमा छ । संगीतकार दीपक भन्छन्, ‘मेरो सुगम गीतहरु हिट हुन थालेपछि चलचित्र संगीतमा व्यस्त हुन थालेँ । अहिले त आधुनिक र चलचित्रका बराबरी गीत सिर्जना गर्दै आएको छु ।’

कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’जस्तो चर्चित रिरिज फिल्मका संगीतकार दीपकले संगीत भरेका अधिकांश फिल्मका गीत चर्चित छन् । दीपकले पहिलोपटक फिल्म ‘तेजाब’को ‘जहाँ तिमी त्यहाँ फूलको वर्षा’ बोलको गीत संगीत गरेका थिए । त्यसयता उनले लगातार नेपाली फिल्म क्षेत्रलाई ब्लकबस्टर गीत दिँदै आएका छन् ।

‘ब्रास्लेट’, ‘मंगलम’, ‘सम्झी राख है’, ‘किस्मत–२’, ‘हवल्दार सुन्तली’, हिजोआजका कुरा’, ‘छक्का पञ्जा’जस्ता ३२ भन्दा बढी फिल्ममा संगीत गरेका दीपक भन्छन्, ‘मैले संगीत गरेका अधिकांश फिल्मी गीत दर्शकले रुचाएका छन् । जुन मेरो लागि खुसीको कुरा हो ।’

त्यसो त दीपकले संगीत गरेका फिल्मका मात्र होइन, लोकपप, आधुनिकदेखि तीज गीतसम्म दर्शकले रुचाएका छन् । उनका ‘मलाई आफ्नो बनाएर दुःखी बन्छाैँ भने’, ‘जिन्दगीकै सवाल हुन्छ’, ‘छुट्टिएर तिमीसँग बाँच्न सक्ने’, ‘आँधीखोला उर्लिएर’, ‘हेर्ने मन छ तिमीलाई’ ‘पिरिम नलाउने’, ‘तिम्रा डोलाडोला हातमा मेहन्दी भरिछौँ’, ‘तिम्रो पिक्चर हिट्’, ‘पर्ख पर्ख मायालु’, ‘देखन चम्पा’, ‘पहिलो नम्बरमा’जस्ता अनगिन्ती गीतहरु चर्चित छन् ।

दीपकद्वारा संगीतवद्ध पछिल्लो फिल्म ‘छक्का पञ्जा–४’को ‘सलाम’ बोलको गीत अहिले ट्रेण्डिङमा छ । जसले दीपकको लोकप्रियतालाई थप उचाइमा पु-याएको छ । उनी भन्छन्, ‘अहिले पनि आधा दर्जनभन्दा बढी फिल्मका गीत सिर्जना गर्दैछु ।’

गीतसंगीत क्षेत्रमा योगदान गरेवापत दीपकले थुप्रै राष्ट्रिय तथा स्थानीयस्तरका अवार्ड र सम्मानहरु पाइसकेका छन् । दीपकले पहिलोपटक ‘डि–सिने अवार्ड–२०६९’ हात पारेका थिए । त्यसपछि प्रत्येक वर्ष हुने अवार्डहरुका उनी ‘सर्वोकृष्ट पाश्र्व संगीतकार’को दावेदार बन्न थाले । दीपक भन्छन्, ‘२० भन्दा बढी कार्यक्रममा ‘सर्वोत्कृष्ट संगीतकार’को अवार्ड पाइसकेको छु ।’

दीपकले ‘कालिका एफएम म्युजिक अवार्ड–२०७५’, ‘कालिका एफएम म्युजिक अवार्ड–२०७६’, ‘नेशनल रापती अवार्ड–२०७३’ ‘डि–सिने अवार्ड–२०७४’, ‘इनास फिल्म अवार्ड–२०१९’, ‘म्युजिक खबर म्युजिक अवार्ड–२०१७’, ‘म्युजिक खबर म्युजिक अवार्ड–२०१९’, क्वालिटी इन्टरटेनमेन्ट अवार्ड–२०७८’, ‘विराट म्युजिक अवार्ड’२०७८’, ‘सगरमाथा म्युजिक अवार्ड–२०७८’, ‘निम अवार्ड–२०७६’, ‘योङ माइन्ड अवार्ड–२०७६’, ‘ज्योति फिल्म अवार्ड’, ‘नेफ्टा अवार्ड’, ‘छायाँछवि फिल्म अवार्ड’, ‘राष्ट्रिय संगीतकर्मी संघ अवार्ड’लगायतका दर्जनौं अवार्डहरु प्राप्त गरिसकेका छन् ।

त्यस्तै, नेपाली गीतसंगीत क्षेत्रमा बटुलेको चर्चा र उनको योगदानको कदर गर्दै राज्यले प्रदान गर्ने ‘जनसेवाश्री पदक–२०७९’बाट पनि उनी सम्मानीत हुने भएको छ । यो सम्मान घोषणा भइसकेको भएपनि वितरण गर्न बाँकी रहेको छ । त्यस्तै, हालैमात्र उनी ‘नातिकाजी प्रतिभा पुरस्कार–२०७८’बाट पुरस्कृत भएका छन् ।

अवार्ड र सम्मानले कलाकारलाई हौसल प्रदान गर्ने उनको भनाइ छ । दीपक भन्छन्, ‘काम गरेपछि दाम पाइन्छ । यो स्वभाविक हो, तर, सम्मान र अवार्डले काम गर्न थप हौसला प्राप्त हुन्छ । कलाकारलाई माया, सम्मान र हौसला आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्