Logo
Logo

माछा शिकारको उत्कृष्ट गन्तव्य ‘जखेराताल’



दाङ । दाङमा माछा शिकारको लागि देउखुरीको जखेरा ताल सहज बनेको छ । पर्यटकीय सम्भाव्यताको दृष्टिकोणले धेरै सम्भावना बोकेको जखेरा तालमा अहिले माछा शिकारको लागि बल्छिको व्यवस्थापन गरिएको छ । पर्यटक आकर्षणका लागि माछा शिकारको योजना सहज र उत्कृष्ट हुने ताल संरक्षण समितिका सहअध्यक्ष रविध्वज थापाको भनाई छ ।

तालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउँदै आएका प्रतिनिधिसभा सांसद मेटमणी चौधरीले ‘बल्छी’ खेलेर औपचारिक रुपमा मत्स्ये शिकारको उद्द्घाटन गरेका छन् ।

प्रमुख अतिथि समेत रहेका सांसद चौधरीले जखेरा तालको भू–बनावट अनुरुप जिपलाईन, डिप बोरिङ, बोटिङ लगायतका अन्य समस्त समस्या समाधानका लागि आफुले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे । मतदाताहरुले आफुमाथी ठूलो भरोसा राखेर विजयी बनाएकाले जखेरा तालको विकासमा आफू सधैं प्रतिबद्ध रहेको सांसद चौधरीको भनाइ छ।

हप्ताको दुईदिन अर्थात बुधबार र आइतबार प्रतिव्यक्ति सय रुपैयाँका दरले एक घन्टासम्म बल्छी खेल्न सकिने ताल संरक्षण समितीका महासचिव लोकमणी बन्जाडेले जानकारी दिएका छन् । साथै बल्छिमा परेको माछालाई बजार मुल्य भन्दा सय रुपैयाँ सहुलियतमा समितिले बिक्री गर्ने महासचिव बन्जाडेले प्रष्ट पारे ।

जखेरा सिवालय धार्मिक पर्यटन विकास संरक्षण समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको सभापतित्वमा संचालन भएको बल्छी उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले माछा शिकारको लागि तालमा थालनी गरिएको बल्छी प्रयोगले पर्यटकहरुलाई मनोरञ्जनका साथै तालको प्रचारप्रसारमा पनि व्यापक सहयोग पुग्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लमही नगरपालिकाका मेयर जोगराज चौधरी, पुर्व मेयर कुलबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, पत्रकार एवं स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो ।

साथै आउँदै गरेको महाशिवरात्री पर्वको अवसरमा जखेरा तालमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ । कार्यक्रममा लोकदोहोरी गायिका जानकी तारमि मगर, मोडल तथा गाएक विजय पुन लगायत स्थानीय एवं राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने ताल संरक्षण समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्