
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । बुधबार बिहान धुम्बाराही पुगेर देउवासँग उनीहरुले राष्ट्रपति उम्मेदवारका विषयमा छलफल गरेका हुन् ।
राष्ट्रपतिमा कांग्रेस र एमालेले एक अर्काको उम्मेदवार स्वीकार नगर्ने परिस्थिति बनेपछि उनीहरुले अध्यक्ष महन्थ ठाकुरलाई सहयोग गर्न आग्रह गरेका छन् ।
ठाकुर माओवादी, कांग्रेस र एमालेका लागि स्वीकार्य व्यक्ति भएकाले उनको नाममा राष्ट्रिय सहमति जुट्ने नेता सुरेन्द्र झाले बताए । देउवासँगको छलफलमा लोसपा अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा लगायत सहभागी छन् ।
लोसपाका नेताहरूले हिजो प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।














