काठमाडौं । नेपाली कांग्रेस पाँच दलीय गठबन्धन ब्यूँताउन सकेसम्म प्रयासमा लागेको छ । त्यसका लागि कांग्रेसभित्र सघनरुपमा छलफल चलिरहेको कांग्रेसकै नेताहरुले बताएका छन् ।
राष्ट्रपति निर्वाचनमार्फत विगतमा कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे केही दिनयता छलफल भइरहेको एक नेताले बताए उनका अनुसार राष्ट्रपति निर्वाचनका लागि पुरानै गठबन्धनलाई ब्युँताउनेबारे अन्तिम निष्कर्ष निकाल्ने तयारी भइरहेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले बुधबार दिनभर चरणबद्ध तत्कालीन गठबन्धनका सबै दलका नेताहरूसँग छलफल गरेको छन् । विगतको पाँच दलीय गठबन्धन ब्युँताउने सहमति बनाउनुपर्ने कांग्रेसका नेताहरुले सभापति देउवालाई उक्साइरहेका छन् । सोही बमोजिम सभापति देउवाले बुधबार एमालेबाहेकका दलका नेताहरुसँग छलफल गरेको बताइन्छ ।
बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताहरुसँग देउवाले छलफल गरेका छन् । देउवाले आफ्नो निवास धुम्बाराहीमा र अध्यक्ष नेपालसँग छलफल गरेका थिए ।
कांग्रेसका एक नेताका अनुसार बुधबारको भेटघाट र छलफलपछि अब विगतको पाँच दलीय गठबन्धन ब्युँताउने निष्कर्षमा कांग्रेस पुगेको छ ।
राष्ट्रपतिको निर्वाचनमा त्यही गठबन्धनबाट नेपाली कांग्रेसले उम्मेदवारी दिने समझदारी बनेको छ । आजको छलफललाई बिहीबार पनि निरन्तरता दिने र बेलुकासम्म सबै विषयमा टुंगो लगाइसक्ने ती कांग्रेस नेताले बताए ।
बुधबार साँझ प्रधानमन्त्रीको निवासमा भएको छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए ।
त्यसअघि देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूसँग छलफल गरेका थिए ।














