काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पुरानो गठबन्धन ब्युँताउने भने हो आफूहरूको ‘बटमलाइन’ उपराष्ट्रपति भएको बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले जसपाले उपराष्ट्रपतिमा दाबी गर्नुका स्वाभाविक दुई कारण रहेको समेत बताए ।

उनले भने, ‘हामीलाई उपराष्ट्रपति चाहिन्छ । उपराष्ट्रपति नदिने हो भने हामी गठबन्धनलाई सहयोग गर्न सक्दैनौं । हामी भोटर मात्र होइनौँ, जतातिरको गठबन्धनमा भोट हाल्ने भएपनि हामीलाई उपराष्ट्रपति चाहिन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख त हामीले पाएनौं, उपराष्ट्रपतिमा त एक जना मधेसी हुनुपर्छ । त्यसो नहुने हो भने हामी कसैलाई सहयोग गर्न सक्दैनौं ।’
पुरानो गठबन्धन ब्युँताएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउँदा आफूहरूलाई कुनै समस्या नभएको समेत अध्यक्ष यादवले बताए ।
‘कांग्रेस र माओवादीले गठबन्धन गर्ने हो भने हामी र एकीकृत समाजवादी निर्णायक हुन्छौं’ उनले भने, ‘हामीलाई भूमिका नदिए किन सहयोग गर्ने ? माधव नेपालको राष्ट्रपतिमा दाबी गर्नु स्वाभाविक हो । कि उहाँलाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमति गर्नुपर्छ ।’
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अहिलेसम्म सम्बन्धविच्छेद भइनसकेकाले उनीहरु जतिखेर पनि मिल्न सक्ने यादवको भनाइ छ । प्रचण्ड र ओलीबीच झगडा मात्र परेको बताउँदै उनले भने, ‘अन्तिमसम्म मिल्न पनि सक्छन् ।’














