Logo
Logo

प्रधानमन्त्रीद्वारा लिग बिजेता खेलाडीलाई प्रतिव्यक्ति २ लाख पुरस्कार दिने घोषणा


378
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आईसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बिहीबार विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिँदै पुरस्कार दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ । तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।’

उनले खेलाडीहरुकै कारण देशको गौरव र प्रतिष्ठा बढेको बताउँदै भने, ‘म सबै नेपालीहरूको तर्फबाट तपाईहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईहरूलाई फेरि पनि सफलता मिलोस् । तपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु ।’

पहिला पहिला खेल जीवन अनुशासनका लागि भनिएको भएपनि अहिले त्यस्तो मात्र नभएको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, ‘अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको छ, कुटनीतिक उचाइका लागि पनि भएको छ। तसर्थ, खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।’

प्रधानमन्त्री प्रचण्डले थपे, ‘सरकारमा हुँदा होस् वा नहुँदा होस्, म सधै तपाईहरूको साथमा छु । खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको छु । छोटो समयमै नेपाली क्रिकेटले जुन सफलता हासिल गरेको छ, त्यसले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ ।’

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्