Logo
Logo

विभिन्न स्रष्टालाई ‘कलाश्री सम्मान तथा पुरस्कार’ प्रदान



काठमाडौं । नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा विभिन्न स्रष्टालाई ‘राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार वर्ष–२०७९’ प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक समारोहबीच पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षता तथा वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार किरण मानन्धरलाई ‘अमूल्य कलाश्री सम्मान’ प्रदान गरिएको छ ।

यस्तै, १ लाख रुपैयाँ राशिको ‘कलाश्री पुरस्कार’ समालोचक प्रा.डा. लक्ष्मण गौतम र ७५ हजार राशिको ‘राष्ट्रिय कलाश्री युवा पुरस्कार’ साहित्यकार भूपिनलाई प्रदान गरिएको छ ।

यस्तै, ६० हजार राशिसहितको ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ ललित फोटोग्राफर जगदीश तिवारीलाई, ५० हजार राशिको ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ डा. टंक उप्रेतीलाई र ५० हजार राशिको ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार’ गायिका मेलिना राईलाई प्रदान गरिएको हो ।

सम्मानित भएपछि बोल्दै कलाकार किरण मानन्धरले आफूले पाएको सम्मान राष्ट्रका युवा कलाकारलाई समर्पण गर्न चाहेको बताए । इन्जिनियरिङको पढाइ छोडेर कलाका क्षेत्रमा लागेको फलस्वरुप उक्त सम्मान पाएको उनले बताए ।

संस्थाका प्रमुख संरक्षक डा. विमल कोइरालाले उक्त संस्था प्रज्ञा र अभिव्यञ्जनाको यात्रामा हिँडिरहेको बताए । सभ्यताको आधारभूमि कलासाहित्य भएको बताउँदै उनले भने, ‘कलासाहित्य शाश्वत हो ।’

यस्तै, कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले कलासाहित्यको उत्थानमा प्रतिष्ठानले पुर्याएको विशिष्ट योगदानको प्रशंसा गरेका थिए ।

नेपाली कला साहित्य डटकम प्रतिष्ठानले केही वर्षयता स्रष्टाहरुलाई सम्मान र पुरस्कार प्रदान गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्