Logo
Logo

राष्ट्रपति चयनबारे माओवादी, एकीकृत समाजवादी र जसपाबीच छलफल


1.4k
Shares

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार तय गर्ने दिन नजिकिएसँगै शीर्ष दलका नेताहरुले भेटघाट र छलफललाई तिव्रता दिएका छन् । तर, अहिलेसम्म राष्ट्रपति पद कसले पाउने भन्ने निष्कर्षमा दलहरु पुग्न सकेका छैनन् ।

यसैक्रममा अहिले राष्ट्रपति चयनका विषयमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीबीच छलफल चलिरहेको छ ।

बिहीबार साँझ सिंहदरबारमा सुरु भएको छलफलमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् ।

यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् भने एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन् । बैठकमा पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताउनेबारेमा समेत छलफल भइरहेको माओवादीका एक नेताले बताएका छन् ।

यसअघि राष्ट्रपति चयनबारे पुरानो पाँच दलीय गठबन्धनको बैठक बस्ने भनिएपनि स्थगित गरिएको थियो । पाँच दलीय बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले जसपा र एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेका हुन् ।

यसअघि प्रधानमन्त्री प्रचण्डले जसपासँग एकल छलफल गरेका थिए भने आजै एकीकृत समाजवादी र नेपाली कांग्रेसका नेताहरुसँग पनि उनले राष्ट्रपति चयनबारे छलफल गरेका छन् ।

यस्तै, कांग्रेसका नेताहरुसमेत अहिले आन्तरिक छलफलमा जुटेका छन् । कांग्रेस पुरानो पाँच दलीय गठबन्धनलाई ब्युँताउन केही दिनयता सघनरुपमा छलफलमा छ ।

प्रतिक्रिया दिनुहोस्